एमालेमा गएका वादलसहितका २३ जना नेतालाई कारबाही गर्ने माओवादीको तयारी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहितका नेताहरुलाई कारबाही गर्ने प्रस्तावमाथि छलफल चलिरहेको छ ।
केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको बैठकमा थापा सहितका नेताहरुलाई अनुशासनको कारबाही गर्ने तयारी भईरहेको एक नेताले जानकारी दिए ।
नेकपा हुँदा माओवादी केन्द्रबाट मन्त्री बनेका थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, शहरी विकासमन्त्री प्रभु शाह, खेलकूद मन्त्री दावा तामाङसहित एमालेमा गएका २३ जना माथि कारबाहीको तयारी भईरहेको ति नेताले वताए ।
बैठकमा विधान, संगठनात्मक संरचना र अनुशासनबारे छलफल चलिरहेको जनाईएको छ ।
बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश भएको पछि त्यस विषयमा पनि छलफल चलिरहेको छ । स्थायी समिति बैठकमा पार्टीको नाम फेरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने विषयमा सहमति भएको र त्यही प्रस्ताव केन्द्रीय समितिमा पेश भएको एक नेताले जानकारी दिएका छन ।
आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने सम्भवना रहेको पनि ती नेताले बताए ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई वैधानिकता नदिई पूर्ववत् अवस्थामा फर्काइदिएपछि दुई पार्टी पुरानै नाममा क्रियाशील भएका छन ।