टसमस भएनन् नेपाल, चैत ४ र ५ गतेको कार्यकर्ता भेला नरोक्ने
नेकपा एमाले (माधव नेपाल) समूहको भेलाले चैत ४ र ५ गतेका लागि निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफलपछि नेपाल समूहको भेला आयोजना गरिएको थियो । बानेश्वरस्थित एक होटलमा बसेको भेलाले यसअघि नै निर्धारण गरिएको राष्ट्रिय कार्यकर्ता भेला तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।
भेलामा नेता नेपालले धुम्बाराहीको बैठकमा भएको छलफलका बारेमा जानकारी दिएका थिए। बैठकमा पार्टीभित्र देखिएको विवाद समाधनका विषयमा छलफल भएपनि निष्कर्ष निकाल्न नसकेको वारेमा नेपालले जानकारी दिए ।
फागुन २८ गते ओली पक्षले गरेको निर्णय खारेज हुनुपर्ने अडान नेपालले राखेका थिए। तर, ओलीले त्यो विषयमा अडान लिएपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो।
फागुन २८ गतेको बैठकबाट ओली पक्षले आफू पक्षीय वैठक वोलाएर नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी विहिन वनाएको थियो भने पदाधिकारीहरु खारेज गरेको थियो । बैठकले माओवादी केन्द्रबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको थियो।