बारामा काठ तस्करी मौलायो
बारा
बारा जिल्लामा काठ तस्करी बढेको छ । बारा जिल्लामा मात्र गत आर्थिक वर्ष २०७६ –०७७ मा काठ तस्करी सम्बन्धी ३२ वटा मुद्दा दायर भएका थिए । जस मध्ये २२ वटा डिभिजन वन कार्यालयमा १० वटा र बारा जिल्ला अदालतमा १० वटा थिए । यो तथ्यांकले बारा जिल्लामा वन तस्करी बढिको पुष्टि गर्छ । तथ्यांक अनुसार बारामा गत आर्थिक वर्षमा १ हजार २ सय ८२.४ फिट काठ चोरी तस्करी भएको थियो ।
चालु आर्थिक वर्षको फागुन तेश्रो साता सम्म १ हजार ९सय ८३.५ क्युफिट काठ चोरी तस्करी भईसकेको छ । पछिल्ला वर्षहरुमा काठको तस्करी बढेको कर्मचारीहरुको कथन रहेको छ । डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले विगतको वर्ष भन्दा अहिले काठ चोरी तस्करी बढेको बताउछन । उनले कोरोना संक्रमणको कारणले लगाईएको लकडाउनले मान्छेहरुको वनमाथिको आश्रीत बढेको कारणले चोरी तस्करी समेत बढेको बताए । अहमदले सरकारले काठको बिक्री बन्द गरेको कारणले गर्दा समेत चोरीको क्रम बढेको बताए ।
जिल्लाको निजगढ,भरतगन्ज, सिगौल,अमरेखगन्ज,नयां बस्ती मधुवन, बोधगन्ज लगायतका वन क्षेत्र छन । २४ घण्टा सशस्त्र वन रक्षक र वन कर्मचारीको गस्ती रहने गरेपनि खुला सिमानाका कारण काठ तस्करी नियनत्रणमा आउन सकेका छैनन ।प्रमुख अहमदले वन तस्करी रोक्नको लागि विस्तृत योजना नै निर्माण गरेर कार्य अगाढि बढाउन थालेको बताए । उनले वन तस्करीका रोक्नुको साथै वन क्षेत्रको संरक्षण आफुहरुको योजनाको प्रमुख लक्ष्य रहेको बताए । जिल्लामा ४७ हजार एक सय ८२ हेक्टर वन क्षेत्र रहेको छ ।
जस मध्ये ४१ सामुदायिक वन, ४ साझेदारी वन , पर्सा राष्ट्रिय निकुञ्ज र निजीवन क्षेत्र रहेका छन् ।
वन क्षेत्र भित्र भएको घना वस्ती र चौतर्फी रुपमा खोलिएका बाटोघाटोका कारण निमार्णधिन निजगढ अन्तराष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा पछिल्लो समय सबै भन्दा बढी तस्करी हुँने गरेको छ । तर स्थानियवासीहरुले भने वन तस्करी रोक्नको लागि खुला सिमालाई जिम्मेवार बताउने गरिएपनि वन कर्मचारीहरुको मिलोमतोमा नै तस्करी हुने गरिएको दावि गरेका छन । स्थानिय सबै सरोकारवाला पक्षले गम्भीरता देखाउनुपर्ने जरुरी रहेको बताएका छन ।