धुमवाराहीमा ओली–नेपाल भेट, कस्तो आउला निस्कर्ष ?
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल पक्षबीचको वार्ता जारी छ । अहिले ११ ः २० बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छलफलमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपालसहितका नेताहरु सहभागी छन् ।
पुस २३ गते सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि पहिलो पटक दुवै पक्षका नेताहरु संयुक्त छलफलमा जुटेका हुन् ।
गत शुक्रबार ओलीले एकपक्षीय रुपमा पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको नेपाल पक्षले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरेको थियो । नेपाल पक्षले हिजो ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको थियो ।
ओलीसंग कुनै हालतमा मिल्न नसक्ने निष्कर्ष निकाल्दै माधव पक्षका ११ जना स्थायी कमिटी सदस्यले आईतवार साँझ विज्ञप्ति निकालेका थिए । विज्ञप्तिमा ओलीलाई दक्षिणपन्थी अवसरवादी भन्दै संघर्षका लागि कार्यकर्तालाई अपिल गरिएको थियो । दुई पक्षबीच तिक्तता बढिरहेका बेला सोमवारको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
–जनआस्था