ओली–नेपाल भेटवार्ता सकियो, राष्ट्रपतिको पहलमा भएको थियो भेट
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको भेटवार्ता सकिएको छ।
पार्टीभित्रको विवाद चर्किएको चार महिनापछि दुई पक्षबीच भएको भेटवार्ता पार्टी मुख्यालय धुम्बाराहीमा भएको थियो।
छलफलमा ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी थिए भने नेपाल तर्फबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी थिए।
अध्यक्ष ओलीले पार्टीभित्र एकलौटी गर्न खोजेपछि नेपाल समूह असन्तुष्ट छ। पार्टीभित्रको विवादको कारण एमाले फुटको अवस्थामा पुगेका बेला अध्यक्ष ओलीकै पहलमा संवादको थालनी गरिएको हो।
अध्यक्ष ओली नेपाल पक्षलाई पेलेर जाने मुडमा देखिएको थियो। २८ फागुनमा एकपक्षीय केन्द्रीय कमिटी बैठक बसेर २३ जना केन्द्रीय सदस्यमा मनोनीत, विधान संशोधन, कार्यविभाजन हेरफेरलगायतका महत्वपूर्ण निर्णय गरे ।
त्यसको प्रतिवादमा नेपाल पक्षले समानान्तर कमिटी मात्रै बनाएर चैत ४ र ५ चैतका लागि राष्ट्रिय कार्यकर्ता भेलासमेत डाक्यो । त्यसपछि अध्यक्ष ओली नेपालसहित ११ जना नेतालाई कारबाही गर्ने तयारीमा समेत लागे ।
ओलीले सार्वजनिक कार्यक्रममै बैठकमा नआए विधानअनुसार हुँदै जाने भनेर कारबाहीको चेतावनी दिएका थिए ।
ओलीले अहिले नेपाल पक्षको कार्यकर्ता भेला रोक्न चाहेका छन् । यहि विचमा ओली अहिले नेता नेपाल पक्षसँग संवाद गरेर समस्या समाधान गर्ने प्रयासमा लागेका हुन। त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका खेलेको स्रोतको दावी छ । हिजो (आईतवार) साँझ राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेटेरै माधव नेपाललाई फकाउन सुझाव दिएकी थिइन् ।
एमालेका स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसहित तीन जनासँगै छलफल गर्ने गरी माधव नेपाललाई सन्देश पठाएकी थिइन् । तर, नेता नेपालले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली र आफूबीच हुने छलफलमा सहभागी नहुने सन्देश राष्ट्रपतिलाई पठाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता