News राजनीति

पार्टी छुट्टिएपछि प्रचण्डलाई हाइसञ्चो, सानो परिवार, सुखी परिवार !

पार्टी छुट्टिएपछि प्रचण्डलाई हाइसञ्चो, सानो परिवार, सुखी परिवार !

सोमबार दिउँसो एमाले मुख्यालय,धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग भेटघाट गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मुड’ आफूलाई कोही पनि नचाहिएको जस्तो देखिएको थियो भनिन्छ । प्रधानमन्त्रीलाई त्यस्तो मुडमा धकेल्नेहरूमा उहाँका अति विश्वासपात्रहरूकै हात रहेको स्वयम् बालुवाटार निकट तर दोस्रो तथा तेस्रो घेरामा रहेकाहरूले बताएका छन् । उनीहरूको गुनासो छ ‘उकास्ने र उकासिने दुवै उस्तै छन् ।’

तुलनात्मक रुपमा प्रधानमन्त्री ओलीले धुम्बाराहीबाट निस्कँदै गर्दा मिडियासँगको कुराकानीमा ‘आजको छलफलमा कुरो राम्रो भो’ भन्नुभएको थियो । भलै वार्तामा दुवै पक्ष आफ्नो अडानबाट टसमस भएको थिएन । तर, प्रधानमन्त्रीका ‘राइट ह्याण्ड’ भनेर चिनिनुभएका सुवास नेम्वाङले भने २८ गते बसेको बैठकको कुरो मात्रै होइन, छलफलमा केही पनि कुरा नमिलेको भनेर प्रतिक्रिया दिनुलाई बालुवाटारको तेस्रो घेरामा रहेकाहरूले शंकाको दृष्टिले हेरेको बताइन्छ । उनीहरू भन्छन्– ‘माधवहरूलाई खेद्न पाइएमा छिट्टै हालिमुहाली गर्न पाइन्छ भन्ने लागेकाले उहाँहरुले त्यसो भन्नुभएको होला ।’

अर्कोतर्फ प्रधानमन्त्रीको पछिल्लो सक्रियतालाई झन् धेरै शंकाको दृष्टिकोणले हेर्नेहरू पनि प्रशस्त छन् । उहाँ पूर्वराजपा अध्यक्ष महन्थ ठाकुर र उनको समूहलाई फेरि पनि राजनीतिक जालमा पार्न सकिन्छ कि भन्ने योजनामा रहेको बताइन्छ । प्रधानमन्त्रीको पछिल्लो गतिविधि अन्यत्रको डिजाइनमा भएको समेत भन्न थालिएको छ । राजनीतिक रुपमा निकै अगाडि बढिसक्नुभएका ओली अब ‘ब्याक’ हुने अवस्थामा नरहनु भएको अड्कल काटिएको छ । सोझै नभने पनि अधिकांशले प्रधानमन्त्रीका पछिल्ला शंकास्पद गतिविधि मुलुकको आन्तरिक प्रणालीबाट सञ्चालन हुन छाडेकोतर्फ संकेत गरेका छन् ।

उक्त अदृश्य गैरराष्ट्रिय शक्तिले पाँच वर्ष अघिदेखि प्रधानमन्त्रीलाई सतप्रतिशत राष्ट्रवादी नेता बनाउन मलजल गरेको थियो । त्यसपछि क्रमशः उग्र राष्ट्रवादी नेताको रुपमा ‘ग्रुम’ गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने क्रममा अहिले परिणाम हात पार्ने अवस्थामा पुगेको ठानिएको छ । यसबीच ओलीले पूर्वराजपा अध्यक्ष महन्थको कुर्ताको फेरो समाएर बिन्ती भाउ गर्नुको अर्थलाई पाँच वर्ष अघिदेखि विकसित हुन थालेको उहाँको राष्ट्रवादी छविसँग दाँजेर हेर्न थालिएको छ ।

प्रधानमन्त्रीका पछिल्ला गतिविधि र सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले सबैभन्दा हाइसञ्चो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भएको बताइन्छ । चार वर्षअघि एमाले अध्यक्ष ओलीसँग कार्यगत एकता गरेको र उहाँ प्रधानमन्त्री भएको भोलिपल्टदेखि प्रचण्डलाई टेन्सन शुरु भएको थियो । त्यसपछि उहाँ यस्तो ट्रयापमा पर्नुभयो कि तुरुन्त केही भन्न नसक्ने र एकता गर्ने बित्तिक्कै केही गर्न पनि नमिल्ने । तत्काल त्यहाँबाट ब्याक हुनसक्ने अवस्था पनि थिएन । आफूभित्रको पीडा बताउनसक्ने अवस्थामा समेत नरहेका प्रचण्डलाई अहिले हाइसञ्चो भएको आँकलन गरिएको हो ।

खुमलटार निकट एकजना नेता भन्छन् ‘अहिले उहाँलाई खुदो पल्टेको छ । सानो परिवार,सुखी परिवार झैँ हुनुभएको छ ।’ यसअघि सत्ताधारी नेकपा अध्यक्ष भएपनि सबै पावर प्रधानमन्त्री ओलीले नै एक्सरसाइज गर्दै आउनुभएको थियो । उहाँले केही गर्न नै पाउनुभएन । त्योभन्दा अहिले आनन्द मान्नु भएको उहाँको तर्क छ । विगतमाझैँ प्रचण्डबाट विप्लव,वैद्य,बाबुराम, बादल र गोपाल किराँतीको सँधैको झ्याउलो समेत पन्छिएको छ ।

अर्कोतर्फ,प्रधानमन्त्री ओलीलाई पनि प्रचण्डलाई जस्तै आनन्द भएको बताइन्छ । पार्टीभित्र सँधै किचलो गर्ने भनिएका माधव नेपाल, झलनाथ खनाल,वामदेव गौतम नभएपछि टण्टै साफ भएको हो । खुमलटार र बालुवाटारका केही शुभचिन्तकहरूले भने ‘नियतीले उहाँहरूलाई त्यस्तो बनाएको’ बताउने गरेका छन् ।

त्यसैले होला,यत्रो राजनीतिक गञ्जागोल हुँदा पनि हरेक हप्ताको क्याबिनेट बैठकमा प्रधानमन्त्रीले आफ्ना मान्छे भर्ना गर्न छाड्नुभएको छैन । सोमबारको क्याबिनेटबाट खानेपानी संस्थानको अध्यक्ष र सञ्चालक समिति सदस्यहरू नियुक्त गरिएको छ । अघिल्लो साता राष्ट्र बैंकको डेपुटी गभर्नर । पछिल्लो दिनमा सरकारको काम भनेको हरेक साता सरकारी नियुक्ति दिने मात्रै हो कि भन्ने देखिएको छ । भोलिको राजनीतिको भर नगरेर उहाँले आफ्ना मान्छे भर्नुभएको बताइन्छ ।
(यो सामग्री जनआस्थावाट साभार गरिएको हो।) 
 

प्रचण्ड  प्रधानमन्त्री ओली अदृश्य गैरराष्ट्रिय शक्ति राष्ट्रवादी नेता

विशेष