विदेशीको इशारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोरः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको इशारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने बताएका छन्।
राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रममा उनले भने–‘गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी हो, विदेशीको स्वार्थपूर्ति गर्न राजनीतिक दल र नेताहरू प्रयोग हुनु दुर्भाग्यपूर्ण हो ।’
२०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी हस्तक्षेप बढेको पनि उनले वताए । नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको चाहिएको वताएका उनले निषेधको राजनीति अन्त्य गर्न आग्रह गरे। ‘सबै अट्न सक्ने राजनीतिक प्रणालीको विकास गरौँ, जसले मुलुकलाई सवल, समृद्ध र स्वाधीन बनाउन सकोस्’– उनले भने।
भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको चक्र तोड्नका लागि राप्रपा बलियो हुनुपर्ने भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दाबी गरे ।