News अर्थ

निक्षेपकर्ताको पैसा मनलाग्दी लगानी गर्दा लालीगुराँसको पुँजी जोखिममा

निक्षेपकर्ताको पैसा मनलाग्दी लगानी गर्दा लालीगुराँसको पुँजी जोखिममा

ललितपुरको ललितपुर महानगरपालिका स्थित लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जथाभावी ऋण लगानी गर्दा शेयर सदस्यहरुको वचत/लगानी जोखिममा रहेको चर्चा सुरु भएको छ ।

सञ्चालकहरुकै संलग्नतामा सहकारी संस्थाले अनावश्यक क्षेत्रमा लगानी गरेको गुनासो वढिरहेका वेला शेयर सदस्यकै लगानी जोखिममा रहेको चर्चा सुरु भएको हो । धितो मुल्यांकनमै कैफियत गरी ऋण लगानी गर्दा असुलीमा समेत समस्या देखिदै आएको श्रोतले जनाएको छ ।

संस्थामा अमरसदास श्रेष्ठ अध्यक्ष, रामकृष्ण वाराही उपाध्यक्ष, सुरेन्द्र भण्डारी सचिव, रविशमसेर थापा कोषाध्यक्ष तथा अमृतकुमार अर्याल र हजुरी विष्ट सदस्य छन् ।

संस्थामा आवद्ध सदस्यहरूलाई स्वावलम्वन, पारस्परिक सहयोग एवम् मितव्ययिताको अभिवृद्धि गरी नियमित रुपमा बचत गर्ने बानीको विकास गर्ने, उत्पादनशील, आयमूलक र सिपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित ब्याजदरमा ऋण प्रदान गर्ने तथा आत्मनिर्भर एवम् आत्मविश्वास सम्बन्धी धारणाबारे सदस्यहरूलाई उत्प्रेरित गर्ने उदेश्यले स्थापना भएको लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्थाले हाल व्यापारिक कर्जा, भवन निर्माण कर्जा, औद्योगिक कर्जा, हायर पर्चेज कर्जा, पशु कर्जा, कृषी कर्जा, घरजग्गा खरिद कर्जा, डेरी उद्योग कर्जा, संस्थागत कर्जा र विविध कर्जाका नाममा ऋण लगानी गरिरहेको छ ।

सहकारीको नीति तथा सिद्धान्त विपरीत ऋण लगानी गर्दा पुँजी नै डुब्ने अवस्था आएको सहकारीको आन्तरिक सुत्रले जनाएको छ । ‘व्यापारिक, भवन निर्माण र औद्योगिक कर्जाका नाममा मनलाग्दी ऋण प्रवाह गरिएको छ’ सहकारीको ब्यवस्थापकिय टिमसँग निकट एक ब्यक्ति भन्छन्–‘संस्थाको ऋण लगानी गर्ने शैली हेर्दा कुनै पनि एंगलवाट सहकारीको जस्तै लाग्दैन। कर्पोरेट शैलीमा लगानी गरिएको छ। ब्याजसँगै सावाँ पनि डुब्ने खतरा छ ।’

सरसर्ती हेर्दा सहकारीको कारोवार राम्रो देखिएपनि आन्तरिक रुपमा खोक्रो वन्दै गएको स्रोतको दावी छ। वार्षिक ५ देखि ६ अर्वको कारोवार तथा ९ देखि १० करोड खुद नाफा गर्दै आएको सहकारी असुरिक्षत कर्ताकै कारण डुब्ने अवस्थामा पुगेको जनाईएको छ । 

करिव २० हजार शेयर सदस्य रहेको लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्थालाई समयमै लगाम नलगाउने हो भने शेयर सदस्यहरुको लगानी वालुवामा पानी खन्याए सरह हुने सहकारीका एक कर्मचारी वताउँछन् ।

डिभिजन सहकारी कार्यालय लगायतका नियमनकारी निकायलाई दवाव र प्रभावमा पारेर गरिएका अनैतिक कृयाकलाप नियन्त्रण गर्नु पर्ने आवश्यक्ता देखिएको उनी वताउँछन् ।

यस विषयमा सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। उनलाई फोन सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।

सहकारी अनियमितता लालीगुराँस वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

विशेष