News राजनीति

ओलीका कारण पार्टी विभाजन र विसर्जनतर्फ उन्मुख : झलनाथ खनाल

ओलीका कारण पार्टी विभाजन र विसर्जनतर्फ उन्मुख : झलनाथ खनाल

सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई कार्यक्रमको अध्यक्षता गरेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भर्खरै सम्बोधन गरेका छन्। खनालले गरेको सम्बोधनको सम्पादित अंश :

हामी कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको विशेष अवस्थामा आइपुगेका छौँ । वि.सं.२० को दशकसम्म कम्युनिष्ट पार्टी एकीकृत थियो । त्यसपछि विविध ढंगले विखण्डित हुनपुग्यो । सोहीक्रममा माक्र्सवादी लेनीनवादीधारको विकास भयो । त्यसले कम्युनिष्ट आन्दोलन एकीकृत हुँदै गयो । त्यहि क्रममा माले बन्यो । ०४६ सालको जनआन्दोलनपछि माक्र्सवादीसँग एकीकरण भएर एमाले बन्यो । नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन एमालेले महत्वपूर्ण भूमिका खेल्यो ।


फुट र विभाजनका नयाँ–नयाँ शृङ्खला भोगे पनि पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन एमालेले निर्णायक पहलकदमी लिँदै आएको छ । ०६२÷६३ को जनक्रान्तिमा नेकपा एमालेको भूमिका महत्वपूर्ण रह्यो । सोहीक्रममा एमाले र माओवादीबीच मतभिन्नता र दूरी पनि बढ्दै गयो । ०६२÷६३ पछि भने सीमित कार्यगत एकता हुन थाल्यो ।

१० वर्ष लगाएर नयाँ संविधान बनाइयो । नयाँ संविधानले सामन्तवादका आर्थिक आधार र संरचनालाई उन्मूलन गरेको छ । वर्तमान संविधानको प्रत्येक प्रावधान निर्माण गर्न धेरै छलफल गरियो । एमालेले पनि योगदान गर्यो । त्यहि बेला दुई पार्टीबीच एकताबद्धको काम समेत भयो । मिलेर चुनावमा सफलता हासिल गरियो ।

यो नेपालको कम्युनिष्ट आन्दोलनमा अभूतपूर्व सफलता हो । त्यहि सफलताको जगमा केपी ओलीको नेतृत्वमा सरकार बनेको हो । वर्तमान सरकारले समाजवाद, राष्ट्रवाद, अग्रगमनको दिशामा कामहरु अघि बढाउने सम्भावना थियो । तर, केपी ओली नेतृत्वको सरकारले पार्टीको कार्यदिशा, सिद्धान्त, नीति, पद्दतिलाई ठाडै अस्वीकार गर्यो । पार्टीलाई बेवास्ता गरेर आफैँ स्वेच्छाचारी ढंगले अघि बढ्यो ।

प्रधानमन्त्री ओलीले आफ्नो गुटका मान्छेलाई राखेर क्याबिनेट बनाए । योजना आयोगमा पनि छलफल गरिएन । सरकार बनेयता तीन वटा नीति र कार्यक्रम आए, तर पार्टीमा कुनै छलफल नै भएन । पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रमलाई समेटिएन । बजेटमा पनि पार्टीका सोच र कार्यक्रम आएनन् ।

सबैतिर एकलौटी गरियो । हामिले विगत ७० वर्षदेखि उठाउँदै आएको आवाजलाई निर्वाचनको संयुक्त घोषणा पत्रमा उठाएका थियौं । तर ओली सरकारले लागू गर्न सकेन, बरु त्यस विपरित कार्यहरुलाई अघि बढायो ।

तीन वर्षको अवधिमा देश भ्रष्टाचारमा डुब्यो । प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई संरक्षण गरे । यो अवधिमा ३÷४ सय जना मान्छेलाई विभिन्न महत्वपूर्ण जिम्मेवारीमा नियुक्ती गरियो । तर, आफ्ना धुपौरे र आसेपासेहरुलाई मात्रै स्थान दिइयो । पार्टीमा छलफल गरेर सक्षम मान्छेलाई नियुक्त गर्ने परिपाटीलाई लत्याइयो ।

हामी संसदमा झन्डै २ तिहाइको अवस्थामा थियौँ । त्यतिबेला हामी नयाँ नीति, योजना बनाउन सक्थ्यौं । तर, ओलीले पार्टीमा सल्लाह नै नगरी अनेक विधेयक ल्याए त्यसमा जनताको तहबाटै अस्वीकार गरियो ।

यस्ता कुरा बढ्न थालेपछि हामीले आलोचना गर्न थाल्यौँ । पछिल्लो अवधिमा त उहाँले पार्टीका कुरा नसुन्ने मात्र हैन बैठक नै नराख्ने अवस्था बन्यो । बैठकमा नआउने, आए पनि छलफलमा रुची नराख्ने, बैठकको अपमान गर्ने गर्न थालियो । ओलीको यस्तै शैलीका कारण तीन वर्ष पुग्दा पनि पार्टी एकताबद्ध हुन् सकेन । फलस्वरूप पार्टी एकता बचेन । त्यसैले ओलीको नेतृत्व दक्षिणपन्थी अवसरवादी हो भन्ने पुष्टि हुँदैछ ।

एमालेमा गुटबन्दीको शुरुआत केपी ओलीले नै गरेका हुन् ।ओली आज पनि गुटको नेता हो ।ओलीको गुटबन्दीकै कारण अराजकता बढ्दै गयो । बैचारिक काम शुन्य हुनथाल्यो । राजनीति कार्यदिशा पनि दक्षिणपन्थी हुनथाल्यो ।

भर्खरै एकतावद्ध भएको पार्टीलाई अझै एकताबद्ध बनाएर जानुपर्ने दायित्व एकातिर थियो । तर ओलीकै कारण एकतालाई बचाउन सकिएन । तीन वर्षसम्म कठोर ढंगले सहेर बसेको तर, एकपछि अर्का समस्या खडा हुँदै आउन थाल्यो । हामीले प्रश्न उठाउन थालेपछि उहाँले संसद विघटन गर्नुभो । संविधान उलङ्घन गर्ने घटना थियो त्यो । संसद विघटनको घटना एकैचोटि राजनीति र संवैधानिक थियो । हामीले दुवै लडाईं लड्यौं । यो लडाईंमा हामीले ऐतिहासिक भूमिका खेल्यौं । देशभरका कार्यकर्ताले ऐतिहासिक भूमिका खेलेकोमा धन्यवाद दिन्छौं ।

अदालतको पछिल्लो फैसलाले तीन वर्षपछि हाम्रो पार्टी एकता टुट्यो । हामीलाई तीन वर्ष पहिलेको अवस्थामा पुर्याइदियो । यो बेला ओलीले एमालेलाई एकताबद्ध बनाएर लैजान पहलकदमी लिनुपर्ने थियो तर त्यो हुन सकेन । फागुन २८ गते आफ्ना मान्छेलाई राखेर बालुवाटारवाट जुन निर्णय गरियो त्यो पार्टीको विधान, नीति, सिद्धान्तअनुरुप छैन । उहाँले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजानुभएको छ । त्यसविरुद्ध देशभरका कार्यकर्तामा आक्रोश पैदा भएको छ । त्यसलाई राजनीतिक रुप दिन हामीले यो कार्यकर्ता भेला बोलाएका हौँ ।
–जनआस्था

नेकपा एमाले सम्बोधन लोकतान्त्रिक आन्दोलन

विशेष