News राजनीति

अनुचित लाभले सुरु भएको ‘विलाप’: यस कारण ओलीको घेराबन्दीमा फसे वादल

अनुचित लाभले सुरु भएको ‘विलाप’: यस कारण ओलीको घेराबन्दीमा फसे वादल

नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई अलग–अलग पार्टी वनाउने गरी सर्वोच्च अदालतको फैसला आउनु पुर्व नै अनौपचारीक रुपमा नेकपा दुई समुहमा विभाजन भएको थियो । वैधानीक रुपमा नभएपनि प्रधानमन्त्री केपी शर्मा ओली तथा पुस्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले दुई पार्टीको अभ्यास सुरु गरिसकेका थिए ।

प्रमुख नेता अलग पार्टी वनाएर एक–अर्कालाई सत्तोसराप गर्न थालेपछि नेता÷कार्यकर्ता पनि दुई पक्षमा खुल्दै गए । तर, पार्टी विभाजनको अन्तिम क्षणसम्म पनि उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘वादल’ मौन थिए । वामदेव गौतमले अझै पनि पक्ष लिएका छैनन्। तर, वादलले भने अन्तिम समयमा (पुस ८ गते) अचानक प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरे । पुर्नगठित पार्टीको दोस्रो वरियता पाउने भएपछि बादलले ओली पक्षलाई समर्थन गरेको अडकलवाजी गरियो । 

दाहालतिर लाग्दा पाँचौ वरियतामा परिने तर ओलीतिर लाग्दा दोस्रो वरियता पाउने भएपछि उनी ओलीतिर खुलेको धेरैको आड्कल थियो । 

माओवादी कोटाबाट गृहमन्त्री बनेपनि उनलाई विचमै गृहमन्त्रीबाट हटाउन खोजेपछि प्रचण्डसँग सम्वन्ध विग्रेकाले पनि उनले यस्तो निर्णय लिएको हुन सक्ने आशंका ब्यक्त गरिए । तर, वास्तविक्ता यतिमा मात्रै सिमित छैन। स्थायी समिति सदस्यहरु पम्फा भुसाल, देव गुरुङसहित उनको समुहमा रहेका लगभग सबै नेताहरु प्रचण्ड–नेपाल पक्षमा जाँदा वादल किन ओली समूहमा अड्कीए भनेर सोच्नेहरुले अहिले पनि उनको वारेमा लख काटिरहेका छन्।

अझ सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पुनःस्थापित गरिदिएपछि एमालेका सवै नेता÷कार्यकर्ता आफनै पार्टीमा फर्किए । तर,  वादल लगायतका केहि नेता भने सांसद र मन्त्री पदको समेत वास्ता नगरी एमालेमै वसेका छन् । प्रचण्डका विस्वास पात्र तथा दाहिने हात भएर जनयुद्ध हाँकेका वादल सांसद र मन्त्री पद समेत धरापमा पारेर किन एमालेमा वसे ? भन्ने विषयमा आशंका गर्नु अनौठो कुरा पनि होईन । 

जनयुद्धकालदेखि शान्तिप्रक्रियामा सहभागी हुँदा समेत उनलाई माओवादी केन्द्रका अध्यक्ष दाहालका सहपाठी र सहयोगीका रुपमा भूमिका निर्वाह गर्दै आएको ‘इमान्दार’ पात्रका रुपमा लिइन्थ्यो। 

उनीहरुविचको सहकार्य ०३१ मा रामपुर कृषि क्याम्पसदेखि सुरु भएको हो । ०४२ मा नेकपा मशालको केन्द्रीय सदस्य बनेका थापाले ०५९ सालमा अध्यक्ष दाहालसँग असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा तत्कालीन माओवादी फुटाएर नयाँ पार्टी बनाएका थिए। तर, ०७२ सालमा बृहत् वाम एकताको अवधारणासहित उनी पार्टी एकतामा समाहित भए ।

विगतमा माओवादीको महासचिव, संगठन विभाग प्रमुख र सैन्य कमाण्डरका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका उनी कसरी एमालेमा रहे भनेर सर्वत्र चासो छ। विश्लेषकहरु भने वादल रहरले भन्दा पनि वाध्यताले एमालेमा रहेको वताउँछन् । उनी आफनो कारणले भन्दा पनि छोरा प्रतिकको कारण माओवादी केन्द्रमा फर्किन नसकेको उनीहरुको वुझाई छ । वादलले एमाले छोड्न नसक्नुका मुख्य दुई कारण छन्।

अनुचित लाभले ‘विलाप’
०५९ सालमा मोहन वैद्य समुहले माओवादी अध्यक्ष दाहालले पार्टीलाई परिवार र नातागोताको चंगुलमा पारेको, पार्टीदेखि सरकार सञ्चालनमा समेत ‘परिवारवाद’ हावी भएको आरोप लगाएको थियो । दाहालको सचिवालय छोरा प्रकाशले चलाउन थालेकामा वैद्य समूह आक्रोशित थियो। आक्रोश व्यक्त गर्नेहरूमा वादल नै अग्रपंक्तिमा थिए ।

तर, समय क्रमले उनलाई नै त्यहि लाईनमा पुर्यायो । वाम एकताको अवधारणासहित माओवादीमा फर्केका उनी ०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सरकारमा माओवादीको नेतृत्व गर्दै गृहमन्त्री बने। उनले छोरा प्रतीकलाई आफ्नो सचिवालय हाँक्ने स्वकीय सचिव नियुक्त गरे। त्यस वेलासम्म स्वच्छ ब्यक्तित्वको छाप वनाएका थापा त्यसपछि आर्थिक विवाद र अनुचित लाभको चलखेलमा लागेको आरोप लाग्न थाल्यो । 

गृह मन्त्रालय मातहतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सिडिओसम्मको सरुवा र बढुवाको निर्णय प्रतिक मार्फत नै हुने गरेको भन्दै कुराहरु वाहिर आउन थाले । 

व्यापारीदेखि विचौलिया र विवादास्पद प्रहरी अधिकृतहरूसँगको प्रतिकको उठवसले वादलको समेत छवि धुमिल हुँदै गयो । 

प्रतिक मार्फत नै वादलले अनुचित लाभ लिएको एमाले र माओवादी दुवै तर्फका नेताहरुको वुझाई छ । ‘वादल शान्त र सरल किसिमकै मान्छे हुन’ माओवादी केन्द्रका एक नेता भन्छन्–‘तर, छोराको कारण उनी वदनाम भए। छोरा मार्फत अनुचित लाभमा फसेर उनी राजनीतिक रुपमा ‘हलनचल’ को अवस्थामा पुगेका छन्।’ 

छोरा प्रतिक मार्फत भए गरेका सवै गतिविधि/कृयाकलापको वारेमा प्रधानमन्त्री ओलीले सुईको पाएको र त्यसलाई आधार वनाएर वादललाई पेलेर एमालेमा राखेको ति नेताको वुझाई छ ।

निर्मला पन्त हत्या प्रकरण
चैत २ गते लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले सामाजिक सञ्चालमा गृहमन्त्री वादलविरुद्ध गम्भिर आरोप लगाए। निर्मला पन्त वलात्कारपछिको हत्या प्रकरणमा थापाको संलग्नता रहेको संग्रौलाको आरोप थियो।

सोहि घटनाका कारण वादल निरीह बनेको उनले लेखेका थिए । वादलको निरीहपनलाई प्रधानमन्त्री केपी ओलीले सत्ता स्वार्थका लागि ब्ल्याकमेलिङ गरिरहेको र त्यसको वास्तविक्ता विस्तारै खुल्दै जाने पनि उनले लेखे। 

‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ‘बादल’को संलग्नताले उनी निरीह बने। उनको निरीहपनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन्। आफ्नो सत्ता स्वार्थलाई। धेरै कुरा समयक्रममा खुल्दै जाने छ’– उनले लेखेका थिए ।

यति मात्रै होईन, निर्मला पन्तको वलात्कारपछिको हत्या घटनामा वालका छोरा प्रतिकको संलग्नतालाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले पनि शंकास्पद रुपमा ब्याख्या गरेका छन् । १३ वर्षिया वालिका निर्मला पन्तको शव ०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा फेला परेको थियो ।

उक्त घटनामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोराको डीएनए परीक्षण गर्न विरहीले माग गरेका थिए ।

‘भीआईपीहरूको नामसँगै गृहमन्त्री बादलको छोराको नाम पनि निर्मला हत्याकाण्डमा जोडिएर आएको छ । त्यसैले बादलको छोराको डीएनए परीक्षण गरिनुपर्छ ।’

यसरी, एकमाथि अर्को समस्याका कारण वादलले ओलीलाई छोड्न नसकेको नेकपा एमालेकै नेताहरु वताउँछन् । ‘ओलीलाई छोड्दा दुवै कुरा सतहमा आउन सक्ने खतरा छ’ एमाले एक जना नेता भन्छन्–‘मान, प्रतिष्ठा, पैसा, सवै सकिने, छोरो जेल पर्न सक्ने र आफनो अहिलेसम्मको राजनीति पनि सकिने डरले उनी माओवादीमा फर्किन सकेनन्।’ 

ओलीले आफनो स्वार्थ पुरा भएपछि आफुलाई वेवास्ता गर्ने वुझेरै पनि वादल एमालेमा वसेको नेताहरुको भनाई छ। उनीहरु भन्छन्– ‘पार्टीमा अहिले पनि वादललाई सजिलो र सहज अवस्था छैन। युवा संघको भेला मार्फत नै नै उनले आफनो अवस्थाका वारेमा जानकारी पाएका छन्।’

वाध्यताकै कारण उनी एमालेमा पेलिएर वसेको जानकारहरु वताउँछन्।

निर्मला पन्त अनुचित लाभ ओलीको घेराबन्दी वादल

विशेष