News अर्थ

साढे ५ अर्व घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई २ वर्षभित्र नाफामा लाने यस्तो छ योजना

साढे ५ अर्व घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई २ वर्षभित्र नाफामा लाने यस्तो छ योजना

पाँच अर्वभन्दा वढि घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगलाई दुई वर्ष भित्र नाफामा  लाने गरी तयारी सुरु भएको छ । उद्योगमा देखिएका समस्या तथा थोत्रा मिसिनको मर्मत सम्भार गरी उत्पादन वढाउने र अनावश्यक खर्च कटौती गरी उद्योगलाई नाफामा लैजाने योजना छ ।

२ बर्ष भन्दा बढी महाप्रबन्धक पद रिक्त हुँदा उद्योगमा वेथिती सुरु भएको र अधिकांश गतिविधि प्रभावित थिए । तर, ०७७ साल माघ १ गतेदेखि गोपीकृष्ण न्यौपाने महाप्रवन्धकमा नियुक्त भएसँगै उद्योगले गति लिन थालेको उद्योगका कर्मचारीहरु नै वताउँछन् । 

ब्यवस्थापन र उत्पादनमा ध्यान दिन थालेपछि उद्योगले गत माघ र फागुन महिनामा वर्षकै सर्वाधिक सिमेन्ट विक्रि गरेको प्रवक्ता रामवहादुर जिसीले वताए । माघमा २ लाख ११ हजार १३८  र फागुनमा २ लाख ३८ हजार ३७१ बोरा सिमेन्ट विक्रि गरिएको उनले जानकारी दिए । ‘माघ १ भन्दा अघि कोईला अभावले उद्योग वन्द थियो’ जिसीले भने–‘तर, महाप्रवन्धकले पद वहाली गरेको १० दिन भित्र कोईलाको ब्यवस्था गरेर उद्योग सञ्चालनमा आयो ।’

६५ करोड ८२ लाखको चालू दायित्व रहेकोमा उद्योगको आफ्नै श्रोत परिचालन गरि दुई महिनाभित्रै ३२ करोड भन्दाबढी भुक्तानी गरिसकिएको उनले वताए । ‘कोइला लिएर भुक्तानी स्वरुप सिमेण्ट दिने कुप्रथा पनि यसै वर्षदेखि अन्त्य भयो’ उनले भने–‘त्यसो गर्दा बन्द हुने अबस्थामा रहेका सिमेण्टका अधिकृत बिक्रेताको सुरक्षा भयो।’ उद्योगले हाल लक्ष्यको आधारमा कमिशन, बैंक ग्यारेण्टी सुबिधा, नगद छुट जस्ता स्किम पनि सुरु गरेको छ ।

बन्द रहेको उद्योग संचालन गर्न र पुरानो कारखाना भएकोले मर्मतसम्भारमा समय दिनुपरेकोले क्लिंकर उत्पादन चाहिँ लक्ष्य अनुसार हुन नसकेको उद्योगले जनाएको छ । ‘तर बजारमा सिमेण्टको अभाव हुन नदिनेगरी सिमेण्ट प्लाण्ट चालू राखेको कारण वजारमा गैंडाछाप सिमेण्टले अभाव हुन पाएको छैन’– जिसीले भने।

अर्कोतर्फ लोडसेडिङको समयमा उद्योगको प्रभावित क्षेत्रमा बिद्युत जोडिएको लाइन लोडसेडिङको अन्त भएपछि पनि हटाउन नसक्दा उद्योगले लगभग मासिक ५ लाख नोक्सानी व्यहोर्नुपरेको थियो,  अहिले त्यसको ब्यवस्थापन गरी उद्योगको मासिक ५ लाख नोक्सानी रोकिएको उनले वताए ।

उद्योगले डेडिकेटेड फिडर बापत बढी भुक्तानी गरेको २२ करोड भन्दा बढी रकम बिद्युत प्राधिकरणलाई तिर्न बाँकी रकममा मिलान गर्न  पहल भैरहेको पनि उनले वताए । 

आगामी एक बर्ष भित्रै करीब ७० करोड लगानी थप गरि १ मेगावाटको ब्याकअप सोलार प्लाण्ट सहित किल्न सेल फेर्ने, रिइन्फोर्समेण्ट सस्पेन्सन प्रेहिटर जडान गरि हालको दैनिक ८ सय मेट्रिक टन बाट क्षमता बढाइ ११ सय मेट्रिक टन पुर्याउने गरि कार्ययोजना बनेको छ । श्रोतको लागि नेपाल सरकारसँग अनुरोध गरिसकिएको उद्योगका महाप्रवन्धक गोपिकृष्ण न्यौपानेले वताए ।

‘हाल उद्योग ५ अर्ब ५० करोडको घाटामा छ, हामी त्यसलाई चाँडै सुन्यमा पुर्याउने योजनामा छौं’ उनले भने– ‘मेसिनले साथ दिए २ बर्ष भित्रै उद्योग नाफामा जान सक्ने अबस्था छ ।’

उदयपुर सिमेन्ट

विशेष