News

महोत्तरी र सप्तरीमा आगलागी,लाखौको क्षति

महोत्तरी र सप्तरीमा आगलागी,लाखौको क्षति


महोत्तरी 
महोत्तरीको सम्सी र सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा भएको आगलागीबाट लाखौ मुल्य बराबरको क्षति भएको छ । महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्बेटोलमा स्थानीयवासी रामवली खत्बेको घरमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार टाटीको बेरा र खरले छाएको रामवलीको एकतले मूलघरमा लामखुट्टे धपाउन बालेको आगो सल्किएर आगलागी हुँदा घर जलेर पूर्णरूपले क्षतिग्रस्त भएको हो ।
पीडित घरधनी रामवलीका अनुसार घरभित्र रहको ३०० किलो चामल, दाल, अन्य अन्नपात, लत्ताकपडा, भाँडाकुडा, काठपात तथा अन्य थुप्रै जिन्सी सामान गरी करिब रु चार लाखको क्षति भएको हो । रामवलीको घरमा भएको आगलागी अन्य घरमा फैलन नदिन प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । त्यसैगरि सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ ।
शुक्रवार विहान करिब अढाई बजे भएको आगलागीमा १८ वटा गाई र २ वटा बाबहच्छा जलेर मरेको प्रहरीले जनाएको छ ।
नोज शहाले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छा सहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।
एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको डोरी काट्दा समेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए ।
आगो बिहानै नियन्त्रणमा आएको र अहिले के–कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिने उनले बताए ।
सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।
बिहीवार मात्र तिलाठी कोइलाडी गाउँपालिका–५ आगलागी हुदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।आगलागीमा चार वटा घर जलेर खरानी बनेको थियो भने एक जना गम्भीर घाइते समेत भएका थिए ।
 

महोत्तरी अग्निसाइर कृष्णसवरण नगरपालिका

विशेष