महान्यायाधिवक्ता खरेलले दिए राजीनामा
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । पत्रकार सम्मेलनगरी शुक्रबार उनले राजिनामा दिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनी महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।
०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्री थिए । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए ।
यसअघि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा सुनुवाइका क्रममा पनि खरेलको राजीनामाको चर्चा भएको थियो ।
उक्त मुद्दामा सरकारका तर्फबाट राम्ररी प्रतिरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट भएको र त्यसैलाई लिएर उनले राजीनामा दिन लागेको चर्चा थियो ।