कांग्रेसले चुनावको वकालत गर्नु हुँदैन, संसदवाटै विकल्प दिनुपर्छः नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरु राजनीतिक पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा जानुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति सभामा बोल्दै नेता पौडेलले नेपाली कांग्रेसले ओलीको विकल्प खोज्नुपर्ने बताएका हुन् ।
उनले भने–‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरु मध्ये को–को सँग मिलाएर÷मिलेर के गरेर हुन्छ कसैलाई अगाडी बढाएर हुन्छ कि, आफु अगाडी बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठुलो उत्पात गरे । उधुम गरे । तिनको विकल्पमा नयाँ सशक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भूमिका नेपाली कांग्रेसजस्तो पार्टीले खेल्नुपर्छ।’
कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने उनले वताए । ‘देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ । देशलाई अन्योलमा राख्ने होइन’ उनले थपे–‘अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो ।’ नेतृत्वले कर्तव्यच्युत भएर बस्ने बेला नभएको उनको भनाई छ ।
नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने पौडेलले वताए । संसदमा भएका शक्तिहरुलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ ।
नेता पौडेलले लोकतन्त्र पक्षधरहरुको सरकार दिनुपर्ने बताए । संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले लाग्नु पर्ने उनले वताए ।