माधव पक्षका कार्यकर्ताको डर– नेताले ओलीसँग ‘कम्प्रोमाइज’ पो गर्ने हुन् कि ?
एमालेभित्र बढेको अन्तरबिरोध, अन्तरसंघर्ष र ध्रुवीकरणले कार्यकर्तालाई दुईवटै पक्षको बारेमा तथ्यपूर्ण सोधखोज गर्न बाध्य बनाएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकपक्षीय निर्णय गर्दै जाने तर माधव नेपाल तथा झलनाथ खनालहरूले भने त्यसको प्रतिरक्षा मात्रै गर्ने अवस्था बनेको भनिन्छ । उक्त समूह आफूहरूलाई सरप्राइज दिनुको सट्टा सँधै खण्डन र जवाफमै सीमित भएको बालुवाटारको बुझाई छ ।
पछिल्लो केही महिनादेखि प्रधानमन्त्री ओलीका आक्रामक कदमले नेपाल समूहलाई रक्षात्मक बनाउँदै लगेको छ । हिजो नेकपाभित्र अल्पमतमा हुँदाहुँदै पनि ओलीले आक्रामक निर्णय र गतिविधि निर्वाध चलाइ रहनुभयो । प्रतिनिधिसभा विघटनको निर्णय उल्टँदा पनि उहाँ उस्तै हुनुहुन्छ ।
एमालेभित्रको नेतृत्व ध्रुवीकरणबारे व्याख्या गर्दै तानसेन नगरपालिकाका मेयर अशोक शाही भन्नुहुन्छ ‘पहिले जेएनलाई माधवले देखाएका थिए । त्यसपछि माधवलाई जेएनले देखाउने नै भए पावर कस्तो हुन्छ भनेर । फेरि जेएनलाई माधवले देखाए । त्यसैगरी केपी ओलीसँग जेएन भिड्दा जेएनलाई हराउन माधव लागे । प्रधानमन्त्री बनाएपछि उनै जेएनलाई सबै मिलेर लखेटे । त्यसपछि युवा संघ र अखिलमा जेएनलाई ठेगान लगाउन महेश बस्नेतलाई जिताइदिए ।’
उता, माधव ढुंगेललाई जनकपुरमा अखिलको अध्यक्ष बनाउन पुलिस लगाएर पथलैयादेखि अर्को पक्षका प्रतिनिधिलाई बाटै छेकिएको थियो । अखिलको महाधिवेशनलाई एक्लौटी बनाउन अनेक प्रयास गरिएको थियो भने झलनाथ प्रधानमन्त्री हुँदा उनलाई सिध्याउन अनेक खेल खेलिएकोतर्फ ध्यान दिन शाहीले सबैलाई आग्रह गर्नुभएको छ ।
झलनाथलाई राष्ट्रपति बनाउने भनेर त्यो बेला पनि ठूलै खेल खेलियो तर,भित्रभित्रै योजना अर्कै रहेको पछि मात्र पत्तो पाइएको भन्नेहरू पनि धेरै जना भेटिएका छन् ।
अहिले अध्यक्ष केपी शर्मा ओली र मूलतः वरिष्ठ नेता माधव नेपालबीच देखिएको ध्रुवीकरणमा अधिकांश नेता तथा कार्यकर्ताले पार्टीमा बहुमत भएको बेला आवश्यक निर्णय गर्न नसक्नु माधव नेपाल पक्षको गम्भीर भूल भएको बताएका छन् । परेको बेलामा सांसद पदको लोभ गर्न नहुने धेरै कार्यकर्ताले बताउने गरेको चर्चा हुन थालेको छ ।
कार्यकर्ताको हवाला दिँदै एमालेका एकजना प्रदेश सांसद भन्छन् ‘एमाले कार्यकर्ता मात्र होइन सबै नेपाली आतंकित छन् । प्रधानमन्त्रीको कारण मुलुक अप्ठेरोमा पर्ने भयो भनिरहेका छन् । सबैले उहाँको कदम खराब हो समेत भनिरहेका छन् । तर,अर्को पक्षले केही पनि गरेन भन्ने आवाज सर्वत्र सुनिन थालेको छ ।’
ती सांसदका अनुसार जनता र कार्यकर्ताले प्रधानमन्त्रीको प्रवृत्ति खराब भन्ने गरेका छन्,उनीहरूले नै यताको (माधव समूह) को हिम्मत नभएको आरोप पनि लगाउँदै आएका छन् । केही समय अघिसम्म अधिकांश कार्यकर्ता एमालेको चुनाव चिन्ह सूर्य कता पर्छ,निर्वाचन आयोगले आधिकारिकता कसलाई दिन्छ भन्दै अनिर्णित भएर बसे । अहिले भने ‘कम्प्रोमाइज’ पो गर्ने हुन् कि भन्ने डर माधव समूहमा लागेका तल्लो तहका नेता तथा कार्यकर्तालाई समेत परेको बताइन्छ ।
तल्लो तहका नेता तथा कार्यकर्ता मुलुक,जनता र पार्टी हितको लागि अचानो बन्न पनि तयार देखिन्छन् । तर,उनीहरू प्रधानमन्त्रीको गलत स्टेपको विरुद्धमा रहेको र हिजो विरुद्धमा नभएका समेत अहिले प्रधानमन्त्रीको गलत कदमलाई समर्थन गर्न नसकिने भन्न थालेका छन् ।
कतिपय स्थानीय तहमा नेतृत्व गरेका नेता तथा कार्यकर्ताले प्रतिनिधिसभा विघटनलाई यसअघि ठीक भनेका थिए । तर, तिनै फागुन २८ गतेको केन्द्रीय समितिको अवैधानिक बैठक र निर्णयविरुद्धमा उभिएको देखिन्छ ।
उनीहरूका अनुसार अदालतले एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्क भनेपछि स्वभावतः हिजोको समीकरणबाट माधव र झलनाथले बिदा लिनुभएको हो । नेकपामा हुँदाको अवस्थामा रहेको छुट्टै समूह अर्थात प्रचण्डसँग विधिवत रुपमा छुट्टिनुभएको हो ।
त्यसपछि उहाँहरूले नेतृत्वलाई बैठक डाक्न अनुरोध गर्नुभएकै हो । अध्यक्ष ओलीले भने कुनै मतलब गर्नुभएन । तिनै प्रदेश सांसद भन्नुहुन्छ ‘ठूलो जिम्मेवारी लिएको नेतृत्वले अन्य कमरेडलाई मिल्नको लागि आह्वान गर्नुपर्थ्यो । छाती चौडा पार्नुपर्नेमा ढुकुरे बनाउन हुँदैनथ्यो । बरु उल्टै अर्को पक्षलाई अपमानित गर्ने र सकेसम्म पार्टीभित्र नआओस् भन्ने ढंगको व्यहार गरेको स्पष्टसँग देखियो ।’
अध्यक्ष ओलीका पछिल्ला गतिविधि र व्यवहार पार्टी विभाजनतर्फउन्मुख रहेकाले फुटाउन खोजेको आरोप लाग्न थालेको छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउन खोजेको भन्नेहरू पनि धेरै छन् । प्रधानमन्त्रीको पक्षमा रहेका भनिएकाहरू नै फागुन २८ पछिका निर्णय र कदमलाई गलत भन्नेमा कन्भिन्स भएका छन् । बरु उनीहरूले अर्कोतर्फको नेतृत्वमाथि प्रश्न उठाउँदै भनेका छन् ‘बेलैमा रोक्न आवश्यक कदम चाल्न सक्दैनन्,व्यर्थमा बोल्ने काम मात्रै हुँदै आएको छ ।’
हुन पनि अब प्रधानमन्त्री ओलीले के नै लिन र पाउन बाँकी छ र रु दुई चोटी प्रधानमन्त्री र पछिल्लो पटक पार्टी अध्यक्ष भएपछि जगजगी छ । जे भनेपनि सहयोग गर्ने एमालेकी तत्कालीन उपाध्यक्षलाई राष्ट्रपति बनाइएको छ । त्यसैगरी आफ्ना गलत कार्यलाई आफ्नै सामुन्ने उभिएर बिरोध गर्नसक्ने क्षमता राख्ने लगभग सबै अर्को खेमामा लागेपछि अहिले प्रधानमन्त्रीले हाइसञ्चो मान्नुभएको अर्थ लगाउन थालिएको छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।