News राजनीति

सुखानी घट्नाका थप दुई जनालाई ४७ वर्षपछि शहीद घोषणा

सुखानी घट्नाका थप दुई जनालाई ४७ वर्षपछि शहीद घोषणा

झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरे पनि उनीहरु दुई जना छुटेका थिए। 

समकालीन योद्धा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला उनीहरुलाई शहीद घोषणा गरेका छन्। यो राज्यले उनीहरुप्रति गरेको उच्च सम्मान भएको अर्का योद्धा तथा तत्कालीन संविधानसभा सदस्य मनकुमार गौतमले बताए। उनका अनुसार सुखानीका तत्कालीन पाँच योद्धालाई पनि उनले पहिलोपटक प्रधानमन्त्री हुँदा शहीद घोषणा गरेका हुन्। 

प्रधानलाई विसं २०३० कात्तिक ४ गते इलामको शान्तिपुरमा एक किसानको घरको कोठाभित्र आश्रय लिएर सुतेका अवस्थामा प्रहरी र पञ्चायतका समर्थकले बाँसको सुइराले घोचीघोची हत्या गरेका थिए ।  डाँगीलाई भने बिर्तामोडस्थित गरामनीमा आफ्नै घरमा प्रहरीले गोली हानी हत्या गरेको थियो । प्रधानका समकक्षी खडानन्द वाग्लेले विसं २०५४ मा तत्कालीन बुधबारे गाउँ पञ्चायतमा आफू अध्यक्ष हुँदा हाल बुद्धशान्ति गाउँपालिका–१ स्थित भोटेटारमा उहाँको अर्धकदको शालिक बनाइएको बताए। सोही स्थानमा रामकी धर्मपत्नी इन्द्रमाया  र दुई छोराले मजदूरी गरेर जीपनयापन गरिरहेको वाग्लेको भनाइ छ । आर्थिक अवस्था नाजुक भएको सो परिवारलाई हालसम्म कसैबाट पनि सहयोग नभएको उनले जानकारी दिए। ‘उहाँ पञ्चायती शासनविद्धको आन्दोलनमा होमिनुभयो”, वाग्लेले भने‘घरको अवस्था त्यही बेला कमजोर थियो, छोराछोरीले पढ्न लेख्न पाएनन् ।” उनको हत्यापछि पढाइलेखाइ नभएका सन्तानले जागिर खाने कुरा भएन । अहिले मजदूरी गरेर जीवन निर्वाह गरिरहेका छन् ।
 
त्यसैगरी विसं २०३० साउन २० गते डाँगीको भने प्रहरीले घरमै गोली हानी हत्या गरेको थियो । साविक बिर्तामोड–७ नडियाबारीमा सेल्टरका रुपमा रहेको उहाँका घरमा तत्कालीन झापा आन्दोलनका योद्धाको गोप्य बैठक चलिरहेका अवस्थामा प्रहरीले  घेराउ गरेको थियो । प्रहरीको घेरा तोडेर भाग्ने क्रममा उनलाई गोली हानेर हत्या गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सदस्य शिव ढुङ्गेलले बताए।

हाल बिर्तामोड–९ मा डाँगीको परिवार बसोबास गर्दै आएको छ । उनकी धर्मपत्नी र दुई छोरा छन् । सरकारले हालसम्म उहाँका नाममा कुनै पनि सहयोग नगरेको बताइएको छ । दुवै परिवारका सदस्यले सरकारले उहाँहरुलाई उच्च सम्मान दिँदै शहीद घोषणा गरेकामा खुशी व्यक्त छन् ।
(रासस)

सुखानी झापा विद्रोह पञ्चायती शासक

विशेष