News स्वास्थ्य

नयाँ कोरोना भाईरसः नेपालमा उच्च जोखिम, फेरी हुन्छ लकडाउन ?

नयाँ कोरोना भाईरसः नेपालमा उच्च जोखिम, फेरी हुन्छ लकडाउन ?

भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि नेपालमा पनि चिन्ता सुरु भएको छ । सन २०२१ को सुरुवातमा संक्रमण कम हुन थालेपछि पछिल्लो केहि हप्ता तिव्र रुपमा वढेपछि चिन्ता सुरु भएको हो । पछिल्लो चार महिनामा सबैभन्दा धेरै दैनिक सङ्क्रमण शनिवार पुष्टि भएको थियो।

शनिवार त्यहाँ ४०,९५३ जना सङ्क्रमित भएको पुष्टि भएको थियो। भारतमा हालसम्म १ लाख ५९ हजार भन्दा बढीको कोभिडका कारण मृत्यु भइसकेको छ। त्यहाँ हालसम्म कुल सङ्क्रमितको संख्या १ करोड १५ लाख नाघिसकेको छ।

हालैका हप्तामा भारतमा छिटो सर्ने प्रकारको कोरोनाभाइरस भेटिएको र सङ्क्रमण बढ्दो क्रममा रहेको छ। विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमण हुने देशमा भारत तेस्रो स्थानमा छ भने मृत्यु हुनेमा चौथो स्थानमा छ।

संक्रमण तिव्र रुपमा वढेपछि भारतका केही स्थानमा लकडाउन वा भोजनालय बन्द जस्ता प्रतिबन्धहरू पुनः लगाइएका छन्। 

संक्रमणको त्रास तथा नाका खुल्ला भएसँगै पुनः नेपाल छिर्ने नागरिकहरुको संख्या पनि वढ्न थालेकाले नेपाल पनि उच्च जोखिममा परेको वताईएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न १४ नाकावाट १ हजार ३४ जना र शनिबार १ हजार २ सयजना नेपाल प्रवेश गरेका छन । नेपाल प्रवेश गरेकामध्ये कोभिडसँग लक्षण मिलेकाहरूको मात्रै एन्टिजेन परीक्षण भएको छ । 

पश्चिमी नाका गड्डाचौकी हुँदै भारतबाट शनिवार आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। उनमा संक्रमण पुष्टि भएपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ । भारतमा नयाँ प्रजातिको भाइरस देखिएका वेला त्यहाँबाट नेपाल प्रवेश गरेका नागरिकमा पनि देखिन थालेको भन्दै स्वास्थ्य मन्त्रालयले दोस्रो वेभको जोखिम बढेको जनाएको छ।

हाल भारतलगायत विश्वका धेरै देशहरूमा युके भेरियन्ट देखिएको छ । त्यसैले सीमामा पोजेटिभ देखिएकामा पनि युके भेरियन्ट हुन सक्ने आशंका पनि गरिएको छ । मन्त्रालयले देशभरका स्थानीय निकायलाई तयारी अवस्थामा बस्न परिपत्र गरिसकेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय भारतमा कोरोना संक्रमण बढ्न थालेको भन्दै सभा, जुलुस,  ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड नगर्न अनुरोध गरेको छ । भारतमा बढेको संक्रमणले नेपालमा त्रास सिर्जना गरेकाले सामाजिक, भौतिक दूरी कायम गर्न र अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । 

भारतीय नाका खुल्ला रहने र संक्रमणको वृद्धि दर यस्तै रहने हो भने गत वर्ष झै यस पटक पनि लकडाउन गर्नु पर्ने अवस्थातर्फ स्वास्थ्य अधिकारीहरुले संकेत गरेका छन् । तर, स्वास्थ्य मन्त्रालयका सहायक सुचना अधिकारी गणेश श्रीवास्तवले भने अहिले नै लकडाउनको विषयमा जवाफ दिन नसकिने वताए । ‘यो हाईलेभलको आधिकारीक मिटिङ्गवाट हुने हो। स्वास्थ्य मन्त्रालयले मात्र गर्न सक्ने होईन। एलायन्स मन्त्रालयलगायत सिसिएमसीको मिटिङ्गवाट आउने कुराहरु भएकाले अहिले नै ‘एस/नो’ मा उत्तर दिन सक्ने अवस्था छैन।’

लकडाउन नयाँ कोरोना भाईरस युके भेरियन्ट

विशेष