आफ्नो खोप नल्याउँदा आक्रोशित बनेको चिनियाँ दूतावासद्वारा सम्पादकलाई धुलिखेलमा रात्रीभोज
काठमाडौं । चीनले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप लगाउनेहरुलाई मात्रै चीन भ्रमणका लागि अनुमति दिने नियम बनाएको छ । कोरोनाविरुद्धको खोप कूटनीतिमा भारतलाई पछि पार्नका लागि चीनले विभिन्न तिकडम्हरु गरिरहेको छ । नेपाल सरकारले भारतबाट ल्याइएको कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाउने काम गरिरहेको छ ।
चीनमा रहेका नेपाली विद्यार्थी र व्यापारीहरुलाई चिनियाँ खोप लगाएर आफ्नो खोप सुरक्षित र विश्वसनीय छ भन्ने देखाउन खोजिरहेको छ । आफ्नो खोपको प्रभावकारिता परीक्षण सफल भएको देखाउनका लागि चीनमा रहेका विद्यार्थीहरुलाई प्रयोग गरिरहेको छ ।
चीनले भारतभन्दा अघि नै नेपाललाई कोरोनाविरुद्धको खोप सुरुमा अनुदान दिने र त्यसपछि खरिद गर्न बाध्य पार्ने रणनीति बनाएको थियो । तर, त्यो सफल हुन सकेन । भारतले चीनभन्दा अगाडि नै १० लाख डोज खोप दिएपछि चीन नेपाल सरकारसँग आक्रोशित बनेको हो । त्यसमा पनि चीनले अनुदान दिने प्रतिबद्धता गरिसकेको खोप ल्याउन नेपाल सरकारले ढिलाइ गर्दा चीन सरकार थप आक्रोशित बनेको छ ।
यसअघि चिनियाँ दूतावासले साढे तीन लाख डोज खोप दिने प्रतिबद्धता गरे पनि चीनले विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीचको टेलिफोन संवादका क्रममा थप पाँच लाख डोज खोप दिने प्रतिबद्धता जनाएको थियो । उक्त खोप नेपाल सरकारले आफैं ल्याउनुपर्ने चीनको अडान रहेको छ । तर, नेपाल सरकारले भने उक्त खोप हालसम्म ल्याउन नसकेपछि सरकारलाई दबाब दिनका लागि बालुवाटारस्थित चिनियाँ दूतावासले वातावरण बनाइरहेको छ ।
चीनले खोप ल्याउन नेपाल सरकारलाई दबाब दिन बुधबार दूतावासले परराष्ट्रमन्त्री ज्ञवालीलाई टेलिफोन गरेर तत्काल खोप ल्याउन आग्रह गरेको थियो । चीनले पठाएको खोप लगाएक मुलुकमा समस्या निम्तिन थालेपछि विभिन्न मुलुकहरुले खोपप्रति आशंका व्यक्त गरेका छन् । तर, चीनले भने मंगोलियामा खोप लगाएकाहरु सबै स्वस्थ रहेको उदाहरण पेश गरिरहेको छ ।
नेपाल सरकारले थप खोप आपूर्तिका लागि भारतको सिरम इन्स्टिच्युटलाई रकम भुक्तान गरिसकेको छ । भारतभन्दा खोप कूटनीतिमा पछि परेको आँकलन गरेको चीनले अब मिडिया कूटनीति र दबाब कूटनीतिलाई बढावा दिने योजना बनाएको छ । जसका लागि केही दिन अघि चिनियाँ दूतावासको आयोजनामा धुलिखेलमा रात्रिभोज गरिएको थियो ।
उक्त रात्रिभोजमा कान्तिपुरका सम्पादक सुधिर शर्मा, जनआस्थाका किशोर श्रेष्ठ, नागरिकका गुणराज लुइँटेललगायतका सम्पादक र पत्रकारहरु भेला भएका थिए । उनीहरुलाई चिनियाँ खोप ल्याउनका लागि मिडियामार्फत दबाब दिन निर्देशन गरिएको स्रोतले जानकारी दिएको छ ।