News अन्तरवार्ता भिडियो राजनीति

अहिलेको ब्यबस्था सकिने बाटोमा छ, अब राजा आउन सक्छन्ः आरके मैनाली [भिडियो अन्तरवार्ता]

अहिलेको ब्यबस्था सकिने बाटोमा छ, अब राजा आउन सक्छन्ः आरके मैनाली [भिडियो अन्तरवार्ता]

वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीले राजनीतिक दलहरुको गतिविधि यथास्थितीमै दुर्गती तर्फ जाने हो भने राजतन्त्र फर्कन सक्ने वताएका छन् । नेपाल आजसँगको विशेष कुराकानीका क्रममा नेता मैनालीले यस्तो वताएका हुन् ।

निरंकुश ठानीएको राजतन्त्र हटेर गणतन्त्र आएपनि दुर्दशा वोकेर आएका कारण देशमा कहिलै स्थिरता नआएको उनले वताए । नेपालका नेता गणतन्त्र धान्ने हैसियतकै नभएको उनको भनाई छ । ‘गणतन्त्र त आयो, तर देशमा दुर्दशा वोकेर आयो। नेता गणतन्त्र धान्ने हैसियतका भएनन्’ उनले भने–‘अहिलेका जुनसुकै नेताले गणतन्त्र धान्ने हैसियत राखेनन्। सिद्धान्तका हिसावले राजतन्त्र भन्दा गणतन्त्र कहा हो कहाँ उत्तम हो। तर, चलाउनु पनि पर्यो नी । सिद्धान्त मात्रै राम्रो भएर त भएन । अहिलेका नेताहरुको गति देख्दा राजा महेन्द्रकै शासन राम्रो थियो। कमसेक स्थिरता त थियो ।’ 

राजतन्त्रको भविष्य दलहरुको गतिविधिमा निर्भर रहने मैनालीले वताए । दलहरुको गतिविधि राम्रो भए राजतन्त्र फर्कन नसक्ने र गतिविधि यसैगरी दर्गतीमा जाने हो भने राजतन्त्र फर्किने उनको दावी छ । ‘राजतन्त्र भनेको दलहरुको भविष्यसँग जोडिन्छ। दलहरुले राम्रो गर्दै गए भने देशमा राजतन्त्र आउँदैन। दलहरु यसरी नै विग्रदै गए भने त, राजतन्त्र नआएर कि त देशै सकिनु पर्यो । दलको जुन दुर्गती देखिदैछ। सारमा एउटा मात्रै होईन, सवै दलको । यो दुर्गती यसैगरी वढ्दै जानेहो भने त देश सम्हाल्न त कोहि न कोहि त आउनै पर्यो नी ।’

त्यसपछि आउने कोहि न कोहि भनेको त राजा नै भएको उनको दावी छ । ‘आउने कोहि न कोहि भनेको त राजा नै हो। कि त सेना आउनु पर्यो, सेना आएपनि उसले आफै शासन गर्न सक्दैन । उसको सिभिल टुल त चाहियो’ उनले थपे–‘त्यस कारण राजा नै हुने हो । मैले देखेको दलको गतिविधिमा भर पर्छ राजा आउने÷नआउने ।’

दलहरु जति नाशिदै जान्छन् त्यति राजतन्त्र आउने सम्भावना वढ्ने उनले वताए । ‘दलहरु सुध्रिदै गएर राम्रो काम गरे भने राजतन्त्र फर्किदैन। राजा आएर पनि हिजोकै रुपको आए भने फेरी देश चलाउन सक्दैनन्। राजा पनि आउँदा सुधारीएको राजा, सुधारक राजा, आम जनताको हित गर्ने राजा अथवा डेमोक्रेसीसँगसँगै हिड्ने राजा चाहियो’ उनी भन्छन्–‘राजा आएपछि डेमोक्रेसी चै फान्दिने हो भने अवको दुनियाँमा विना डेमोक्रेसीको राजाको काम छैन ।’

म एमालेको केन्द्रिय सदस्य होईन
नेता मैनालीले आफु एमालेको केन्द्रिय सदस्य नभएको वताए । सांगठनिक रुपमा आफु स्वतन्त्र भएको उनको भनाई छ । ‘हुन त मेरो क्यारियर एमालेसँगै जोडिएको हो, तर, अहिले यो विभाजनमा म कतै तिर नलागेर स्वतन्त्र रुपमा वसेको छ’ उनले भने–‘स्वतन्त्र रुपले नेपालको राजनीति कतातिर जान्छ, कुन दिशातिर जाँदै छ भन्ने एक किसिमको एनालाईसिस गर्ने पक्षमा म रहेको छु। त्यसैले म कसैको पक्षधरता भन्दा पनि जे हो त्यहि कुरो भन्ने त्यहि कुरो वोल्ने अभिप्रायमा त्यो स्टेनमा उभिएको छु ।’

‘माधव नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलामा त जानु भयो नी ?’ भन्ने जिज्ञासामा आफु अतिथीको रुपमा मात्रै उनीहरुको कार्यक्रममा गएको वताए । ‘अतिथीको रुपमा वोलाएका हुन् । त्यो भनेको कार्यकर्ता भेला हो। कार्यकर्ता विचको मिटिङ्ग हो। त्यो मिटीङ्गमा वहाँहरुले अतिथिको रुपमा वोलाउँदा अतिथीको रुपमा गएको हो। त्यहाँ कार्यकर्ता÷नेताको रुपमा भन्दा पनि अतिथीको रुपमा गएको। अरु साथी पनि अतिथीको रुपमा थिए’ उनले भने–‘मोहनचन्द्र त एमालेको अहिले पनि सल्लाहकार नै हो। वहाँ सल्लाहकारको रुपमा हुनुहुन्थ्यो भने म सिद्धिलाललगायत कमल कोईरालाहरु अतिथीकै रुपमा थियौ । त्यो सांगठनीक रुकता होईन।’

माधवजी प्रति भावनात्मक समर्थन छ, हामी पीडित पीडितको एउटा मोर्चा भएको हो
मैनालीले माधव नेपालहरुलाई केपी ओलीले अहिले वढि नै पलेको वताए । ‘माधवजीहरुलाई ओलीजीको पेलान अलि धेरै भो । उत्पीडन अलि धेरै भो’ उनी भन्छन्–‘कुनै वेला त माधवजीले पनि अरुलाई तेसै गर्नु हुन्थ्यो। आज ओली जी वहाँकै चेलो, आफनै कार्यकर्ताको रुपमा वसेको ओलीजी माथि उठ्दै गएपछि माधव नेपाललाई पनि पेलान गरे । म पनि हिजो वहाँहरुको पेलानमै परेको हुनाले पीडित पीडितको एउटा मोर्चा भएको मात्रै हो।’

माधव नेपालहरु पेलानमा पर्नु भो भन्ने हिसावले आफनो नैतिक समर्थन रहेको उनले वताए । ‘ओली जीले ठिक गर्नु भएन भन्ने भावनात्मक समर्थन चै हो। अहिलेको अवस्थामा ओलीजीले जे गर्नु भो ठिक गरिरहनु भएको छैन’ उनले भने।

ओलीले पुराना साथीलाई सम्झिने भन्दा पनि दुत्कार्ने पोल्टिक्स गरे
‘तपाई ओलीको पुरानो मित्र किन मित्रलाई छोडेर माधव तिर लाग्नु भो ?’ त भन्ने जिज्ञासामा मैनाली भन्छन्–‘मैले छोडेको भन्दा वहाँले पहिलै छोड्नु भो । राजनीतिमा के हुँदो रहेछ भने आफनो स्वार्थ मिल्दा एकता गर्दा रछन् । पहिले जवसम्म वहाँ जुनियर कार्यकर्ता हुनुहुन्थ्यो, म वहाँभन्दा सिनिर थिए। त्यतिवेलासम्म मित्रता राम्रो थियो। वहाँ अनेक दाउपेच गर्दै मलाई हुत्याएर वहाँ सिनियर हुने स्थिती आयो। र सिनियरको पोजिसनमा जाने कोशीस गर्नु भयो र हुनु पनि भो। खास गरी महाकाली पछाडि । वहाले के ठान्नु भो भने वहाँ सिनियर हुँदै गएपछि पुराना साथीहरुलाई सम्झिने भन्दा  पनि तिनीहरुलाई दुत्कार्ने खालको वहाँको पोल्टीक्स रह्यो। जसले गर्दा वहासँगको मित्रता हिजोको जस्तो न्यानोपनमा गएन र सामान्य सतही रुपमा हुँदै गएर पछि सम्वन्ध विच्छेदकै अवस्थामा आयो। अहिलेको स्थितीमा भन्नुहुन्छ भने वहाँले त्यति हुँदाहुँदै पनि राम्रै काम, असलै काम, कम्युनिष्ट आन्दोलनकै काम, आम जनताले जिम्मेवारी दिएकै काम पुरा गर्दै आउनु भएको भए। त्यो पनि भावनात्मक रुपले म नभए पनि मेरो साथीले काम गर्दै छ भन्ने स्यावासी दिन सकिन्थ्यो । त्यो पनि भएन ।’


ओलीको स्वभाव पहिलेदेखि मन नपरेपछि त्यसलाई किनारै लाउने हो
अहिले माधव नेपाल ओलीको पेलानमा पर्नु भएको छ। पहिला तपाई पेलानमा पर्नु भएको थियो । ओलीले कस्तो खालको नीति अख्तियार गरेका छन् भन्ने प्रश्नमा उनले लामो कथा सुनाए । समग्रमा ओलीको प्रवृत्ति सानैदेखि उटपट्याङ्ग गफ गर्ने, काम थोरै गर्ने तर नगरेको कामको पनि जस लिन खोज्ने खालको भएको उनले सुनाए ।

‘पहिले एक ताका माधवजी महासचिव हुँदै म पार्टीवाट निस्कासित भए। महासचिवको हैसियतले  माधवजीले नै त्यो काम गर्नु भएको थियो । नेपालगन्जमा भएको छैठौ महाधिवेसन पछाडि पार्टी फुट्यो। माले–एमालेमा विभाजन भयो। त्यो विभाजनपछाडि मालेमा गइयो, पछि एमाले पनि भईयो । ति सवै कुरामा ओली जीको भुमिका के रह्यो भने कसरी हुन्छ, यो आरकेलाई सँगै नराख्न पाए हुन्थ्यो भन्ने मनसायवाट लुपहोल खोज्दै जानुभयो । त्यसको एउटै कारण के रहेछ भने –उनी साह्रै कुटिल मान्छे। परसम्मको योजना वनाएर आफना सािथीलाई अंगालो हालेर होईनकी तिनलाई दुत्कारेर अघि वढ्ने। मन नपरेपछि त्यसलाई किनारै लाउने स्वभाव वहाँको सानै देखि थियो। त्यहि स्वभाव यहाँ पनि प्रयोग गर्नु भयो र माधवजीलाई प्रयोग गरेर पहिलो चोटी पार्टीवाट मलाई निस्कास गर्दा पनि ओली जी नै मुख्य मान्छे’ उनले भने–‘माधवजीले गल्ति मेरो मात्रै होईन भनिसक्नु भो ।’

पछिल्लो पटक गणतन्त्र आएपछि ओली आफनो घरमै आएको मैनालीले स्मरण गरे । ‘गणतन्त्र आईसकेपछि र ओली पार्टी महासचिव भईसकेपछि यहाँ आउनु भयो– घरमै । श्रीमान श्रीमतिनै आएर, ओलीजी कै भाषामा भन्ने हो भने ‘आर के तिमी मेरो नेता, तिमी पार्टीदेखि वाहिर वस्ने म पार्टीको अध्यक्ष हुने यो कुरा मिल्यो र ? यसरी पोल्टिक्स मिल्यो र ?’ भने । शब्दै यहि हो। ‘मिल्न त मिलेन निकाल्यौ तिमिहरुले नै । मैले पार्टी छोड्छु भन्या पनि छैन। राजीनामा दिएको पनि छैन । अनि मैले त्यस्तो जघन्य अपराध गरेको पनि होईन । त्यति वेला, जुन वेला मलाई निकाल्यौ पार्टीमा कार्यनितिक रुपमा केहि फरक मत मैले राख्या थेँ। फरक मत त तपाईले पनि राख्नु भएको थियो, वामदेवले पनि राख्या थे। उनीहरुका फरक मतमा कारवाही नगरेर मेरो फरक मतमा मात्रै कारवाही गर्यौ त्यतिखेर। त्यसको कारक तत्व तिमि नै हौ– भने।’ अनि उनले म होईन माधव हो भन्ने माधवले पनि म होईन ओली हो भन्ने चलिरह्यो।’

त्यति हुँदै गर्दा ओलीले ‘पहिलेको कुरा विर्सौ अव एकै ठाउँमा हौं’ भने । स्थायी कमिटीवाट तपाईलाई निकाले स्थायी कमिटिमा लाने भनेर ओलीले वचन दिएपछि आफु दोस्रो चोटी एमालेमा गएको उनले सम्झे। ‘गएपछि केन्द्रिय कमिटीमा राखे। त्यहाँवाट माथि लाने कुरा होईन, चाकरी मात्रै गराउने क्या...। वोलाउने, घण्टौंसम्म कोठा वाहिर राख्ने । अव म ओलीजीको घरमा गएर घण्टौ कुरेर ओलीलाई भेट्नु भनेको त त्यो स्थितीले मलाई सह्य वनाएन’ ओली प्रवृत्तिको स्मरण गर्दै उनले भने–‘उनले वोलाएरै गयो भने पनि टाईममा भेट्दैनन। भेटेपछि पनि कुरा गर्दैनन्। पोल्टीकल कुरा गर्दैनन्। गाँजेमाँजे कुरा मात्रै गर्छन । त्यसो भएपछि म अली प्यासिभ वस्न थाले । पछि गएर एमाले माओवादीको एकतापछि त मेरो नामै केन्द्रिय समितिवाट हटाए । म खोज्न पनि गईन। अहिले तीन वर्ष भयो ।’

सर्वोच्च अदालतको फैसलाले नेकपाको स्थिती एमाले र माओवाीको अवस्थामा पुगेपछि भर्खरै केन्द्रिय समितिको वैठकमा आईज भनेर टेलीफोन गरेको वताएका उनले भने–‘तीन वर्षसम्म मेरो कहिँ नाम छैन, रेकर्डवाट हटाउनु भयो । केन्द्रिय सदस्य थिएँ भने त नेकपाको कमिटीमा पनि मेरो नाम हुनुपथ्र्यो । त्यहाँ त थिएन । ढाँट कुरा गर्ने, झुठ कुरा गर्ने भएको हुनाले म त्यहाँ गईन ।’

मेरो सपनामा पनि ओली नै आउँछन
मैनालीले केपी ओली आफनो साथी भएपनि त्यस्तो ब्यवहार नपाएको भन्दै मन दुखाए । ‘साथी त मेरो हो। अहिले पनि सपनामा, विपनामा मैले सम्झिदा ओलीलाई नै सम्झिन्छु । जेलका सपना देख्दा ओली संगसँगै आउँछन् । किनकी हामी १४ वर्षमा १० वर्ष त खुट्टा जोडेर सँगै वसको मान्छे हो’ उनी भन्छन्–‘वसाई र खान्की मात्रै होईन, चिन्तन, वेथा र दमन पनि हाम्रो टाउकोमा उत्तिकै थियो । ति विगतका कुरा भए। त्यतिखेर म अलि वलियो थिएँ, मैले वहाँलाई सहयोग नै गरेको थिएँ। अहिले वहाँ वलियो हुनु भयो, सवैलाई दुत्कार्नु भयो । वलियो हुँदा दुत्कार्ने मान्छेलाई फेरी चाकरी गर्दै जान मेरो स्वभावले दिएन।’


दुई तिहाई ओलीको होईन, ७० वर्षको आन्दोलन जोडिएको छ
यस्तै कारण अहिले ओलीसँग राम्रो सम्वन्ध नरहेको उनले सुनाए । ‘वहाँले झलनाथलाई हराउनुभो, माधवलाई हराउनु भो, हामीलाई त निकाली नै हाल्नु भो। पार्टीमा दुई तिहाई मत पनि पाउनु भो, राष्ट्रवादी छवि पनि वनाउनु भो। त्यसपछि देश दुनियाँको हितमा केहि काम गरेर देशमा उज्यालो ल्याउने, आम मान्छेको नजरमा एउटा राम्रो मान्छे देखिदै आउनु भएको भए सायद संगठनमा नभए पनि मैले वहाँलाई मनमनै धन्यवाद दिदै खुसी हुने ठाउँ त हुन्थ्यो। त्यो पनि गर्नु भएन’ उनले भने–‘७० वर्षको कम्युनिष्ट आन्दोलनको परिणाममा वल्लवल्ल संसदमा दुई तिहाईको मत आयो। सामान्य वहुमत होईन, दुई तिहाई वहुमत आएको थियो । अहिले वहाँको दम्भ के छ भने दुई तिहाई वहुमत मैले गर्दा ल्याएको हुँ।’

७० वर्षको कम्युनिष्ट आन्दोलनमा हजारौ मान्छे मारिएको र कयौं हजार मान्छेको जिन्दगी तहस–नहस भएको वताएका उनले त्यसको परिणामले अहिले आएर पार्टीले दुई तिहाई पाएको जिकिर गरे । ‘वहाँ मात्रै नेता भएर आएको कुरा त होईन। पार्टी अध्यक्ष हुनुहुन्थ्यो दुई तिहाई ल्याउने वेलामा । तर, वहाँको मात्रै करामतले दुई तिहाई आएको थिएन । त्यसलाई वहाँले मेरो पुँजी हो भन्ने वुझनु भो । र त्यसलाई ब्यक्त गर्नु भो’ उनले भने–‘त्यसरुपले अगाडि आएर पनि देश दुनियाँका लागि चै केहि काम गरेको भए, आम मान्छेको दैनिक जिवन उकास्ने खालका काम भएका भए। मैले राम्रो भनेर गर्व गर्न सक्थे।

वेरोजगारीको समस्याले अहिले दैनिक १५ सय देखि १८ सय मान्छे रोजगारीका लागि देश वाहिर जाने गरेको उदाहरण दिदै उनले भने –‘देशमा रोजगारी मात्रै खोल्दिएको भए त्यो संख्या घट्थ्यो। पोहोरको कारोनाको महामारीमा हजारौ दैनिक ज्यालादारी मानिसको विजोग भएर खानै नपुग्ने अवस्था आयो।’

कम्युनिष्ट सरकार र गरिवको सरकार भनिए पनि अहिलेको सरकारसँग दैनिक ज्यालादारी गर्ने मान्छेको संख्या पनि यकिन नभएको भन्दै उनले दुःख ब्यक्त गरे । ‘कुन गाउँमा कुन ठाउँमा दैनिक ज्यालादरी गर्ने मानिसको तथ्यांक कति छ ? भोली कुनै पनि अशान्ति देशमा आयो भने अथवा ५ दिन हड्ताल भयो भने खान नपुग्ने मान्छेको संख्या कति छ ? त्यो तथ्यांक सरकारसँग छैन।’ उनले भने–‘भन्ने कम्युनिष्ट सरकार, गरिवको सरकार । ठुलठुलो कुरो चै गर्ने । अनि मध्यम वर्गियलाई हित हुने काम गर्ने ?’

वाटो मात्रै वनाएर निम्न वर्गिय जनताको भलाई नहुने भन्दै नेता मैनालीले वाटो वनाउने काममा पनि यो सरकारले विभेदनै गरेको आरोप लगाए । ‘गाउँमा वनाएको वाटो पनि पोल्टीकल आईडियाले कहाँ अध्यक्षको घर छ ? कहाँ उपाध्यक्षको घर छ ? कहाँ आफनो पार्टी समर्थकको घर छ । त्यता–त्यता घुमाएको छ । त्यसले त्यहाँको जनसंख्यालाई स्थायित्व दिने भन्दा पनि पहिरो जाने, पानी सुक्ने जस्ता कुराहरु भएका छन्। योजनावद्ध रुपमा वाटोको निर्माण पनि हुन सकेन। त्यसैले विकास पनि स्थिर भएन ।’

झापा विद्रोह किसान आन्दोलन हो, ७/८ जना सामान्त मरेका हुन्
‘तपाईलाई मान्छेले झापा विद्रोहसँग जोडेर हेर्छन, झापा विद्रोह भनेको के हो , कसरी भयो ?’ भन्ने जिज्ञासामा नेता मैनालीले त्यो विशुद्ध किसान आन्दोलन भएको वताए । ‘त्यहाँ भएको एउटा किसान आन्दोलन हो, सामान्य भाषामा भन्ने हो भने। पहिलेؘपहिले जग्गाधनीले मन परेन भने किसानलाई असारमा पनि निकाली दिन्थ्यो । जमिन आधा रोपेको छ, अलिकति पैसा दिएर तँ छोड भनेर निकाली दिन्थ्यो’ उनले भने–‘किसनले श्रमको आधा मात्र पाउँथ्यो, त्यसमा पनि धान काटिसकेपछि उसले खेत जोज्न पाउँछकी पाउँदैन निश्चित नै थिएन । अनि खेत काम गर्दा गर्दै पनि मालिकको खेतमा काम गर्न गएन वा कुनै किसिमले मालिकलाई चित्त वुझेन भने मोहिलाई असार साउनमा आधा रोपेको खेतीवाट निकालेर लखेट्ने चलन थियो । त्यो प्रवृत्ति विरुद्ध आन्दोलन भएको हो ।’

मोहिवाट हटाउने र किसानलाई दुःख दिने चलन विरुद्ध सुरु भएको किसान आन्दोलन नै झापा विद्रोहका रुपमा चर्चामा आएको उनले वताए । ‘पहिले वैद्य रुपले राखेका मोहिलाई अवैद्य रुपले लखेटने । जोतिराखेको छ, उसको नामममा मोहियानी पनि छ । अनि वालि वुझाएन भनेर भुमिसुधारमा कारवाही गरेर मोहिवाट निकालिदिने। यो किसिमको जुन प्रवृत्ति थियो, त्यसको विरोधमा भुमिगत कम्युनिष्ट पार्टीको रुपमा हामीले त्यसलाई उठायौं।’ उनले स्मरण गर्दै भने–‘त्यहि विद्रोह वढ्दै गएपछि अलिकति टार्गेटेट जमिनदारमाथि हाम्रो गुरिल्ला कमिटिहरुले हमला गरे । ७÷८ ठाउँमा हमला भयो । जमिनदार र जमिनदारका दाहिना हातहरुमाथि हमला भयो । किसानहरुको टिमले नै गरेको हमला हो । यो हमला नै अहिलेसम्म भनिएको झापा विद्रोह हो ।’

वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईँले गरेको रोचक कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला। 

विशेष