हराउदै छन मिथिलाञचलमा जोगिरा
जनकपुर
होलीको मौसम सुरु हुनै वितिकै तराई मधेसमा होलीको रौनकता संगे ग्रामीण भेगमा जोगिरा गराउने चलन थियो । गाउ घरका बुढापकाहरु भोजन गरेर पछि एक अर्काको दलानमा गएर जोगिरा गराउने गर्दथे । तर अहिले ती सबै हराएको अवस्थामा पुगेको छ । ग्रामीण क्षेत्रमा त्यो पौराणिक संस्कृति जोगाउने चासो नेखिएको र दलान संस्कृति समेत ग्रामीण भेगमा हराउन थालेपछि जोगिरा हराउन थालेका छन । सरस्वती पुजाको दिन देखि नै ग्रामीण भेगमा जोगिरा गित सुरु हुन्थ्यो ।
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुवा (होली) गीत लोप हुन थालेको जनाउँदै स्थानीय बूढापाकाहरुले चिन्ता व्यक्त गरेका छन् । पहिले गाउँघरमा होली आएको भन्ने जानकारी फागु गीत गाएर गराइन्थ्यो । अब यस्ता गीत बन्द भएको जनकपुर कपिलेश्वरका राम प्रसाद गिरिले बताए ।
‘जोगिरा सर..र..र... कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ कौन तालपर गोरिया नाचे कौन तालपर हम’ भन्ने गीत अब कमै सुन्न पाइन्छ, गिरिले भने “पहिलेपहिले त गाउँका बीचमा रहेको कुनै सार्वजनिक ठाउँमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगिरा गाउँथे तर अब जोगिरा नसुनेको पनि धैरै भयो । पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रूपमा होली गीत जोगिरा गाउने गरेको महोत्तरीकै राजकुमार महतो बताउँछन्। उनले भने, ‘अहिलेको होली प्रेम र सद्भावको नभएर वैमनस्यमा पुगेको छ। प्रेम र सद्भावको ठाउँमा राग, द्वेष देखा परेकाले होलीको माधुर्य हराउँदै गयो।’
सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने होली गीतमा विशुद्ध रूपमा होलीको महत्व, त्यस भेगको माटोको सुगन्ध रहेकाले यस्ता गीत जोगाउनु अत्यावश्यक रहेको संस्कृतिविद् डा. रामभरोस कापडी भ्रमरको भनाइ छ। पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो। उनले भने, ‘जोगिराको लोपसँगै सामाजिक सद्भाव घट्दै गयो, विस्तारै मिथिलाको मौलिक परम्पराका फागु गीत पनि लोप हुँदै गयो।’
जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका मैथिली विभाग प्रमुख डा. श्यामा महतोको बुझाइमा पनि गाउँको दलानमा डम्फु, झ्याली, हार्मोनियमको तालमा जोगिरा गाउँदै गायकहरूले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, गर्ने जोगिरा विस्तारै हराउँदै गएको छ। उनले भने, ‘होलीलाई आदर्श बनाउने हो भने यसलाई पुनः फर्काउन सकिन्छ।’
पहिलेको होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो तर अहिले अश्लील भोजपुरी गीत बढी गाउन थालिएको छ भने दिन प्रतिदिन होलीको परम्परागत विश्वास पनि लोप हुने अवस्थामा पुगेको जनाउँदै अग्रजहरुले चिन्ता व्यक्त गरेका छन् ।