श्रीमानसंगै होटलमा बसेकी महिला मृत फेला
जनकपुर
जनकपुरको एक होटलमा मृत महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा श्रीमानसँगै बसेकी म्याग्दीको तत्कालीन बिम गाविस बस्ने ३० वर्षीया सृजना सुनार श्रीपालीको शव फेला परेको हो ।
श्रीपालीको शव होटेलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरिर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुर आएकी श्रीपाली दुईदिन पश्चात मृत अवस्थामा भेटेकी हुन् ।
यस सम्बन्धमा उनका श्रीमान विश्वास श्रीपालीले आफूहरु विगत दुईदिनदेखि बसिरहेको रामानन्द चोकस्थित होटलको पाँचौ तल्लाबाट गएराती उनले हाम फालेर आत्महत्या गरेको बताएका छन् ।
उनले भने,‘राति १२ बजेसम्म हामीहरु गफगाफ गरेर सुत्यौँ । बिहान करिव साढे ३ बजेको समयमा अचानक ब्युँझिदा सृजनालाई नदेखेपछि खोज्न थालें । खोज्दै जाँदा उनको शव होटेलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्ड भित्र फेला पर्यो ।’
विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट फर्केको प्रहरी समक्ष बताएका छन् ।
यता, सृजना आफैले हाम फालेर आत्महत्या गरेको वा उनलाई कसैले मारेको हो कि भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।घटनाको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको भन्दै प्रहरी भने विभिन्न एंगलबाट अनुसन्धान गरिरहेको उनले बताए।