बिहारको विधानसभामा प्रहरीको वर्वरताः सांसदहरुलाई लात्ती र मुक्का
भारत बिहारको विधानसभा बैठकमा सांसदहरुबीच हंगामा मच्चिएपछि प्रहरी परिचालन गर्नु परेको छ । सुरक्षाकर्मीले बल प्रयोग गरी सांसदहरुलाई कुटपिट गरेका छन् ।
सरकारले ल्याएको नयाँ प्रहरी विधेयकको विरोधमा रहेका विपक्षी दलका सांसदले संसदमा चर्को विरोध गरे। विपक्षी सांसदको नाराबाजी नियन्त्रण गर्न बोलाइएका प्रहरीले सांसदमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए ।
सुरक्षाकर्मी प्रयोग गरी उनीहरुलाई बर्बरतापूर्वक कुटपिट गरिएको विपक्षी नेता तेजस्वी यादवले वताए । एक भिडियोमा प्रहरीले सांसदहरुलाई लात्ती र मुक्का वर्षाएको देखिन्छ । घटनामा दुई महिलासहित १२ सांसद घाइते भएका छन् ।
त्यसक्रममा केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएका छन् । सांसदहरु नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका थिए।
सदनभित्र प्रहरीलाई बोलाइएपछि आक्रोशित सांसदहरुले नाराबाजी चर्काउन थालेपछि प्रहरीले लात्ती र मुक्की बर्षाउन थालेको थियो ।
सत्तापक्ष र विपक्षबीचको मारामारीकै बीच नितिश कुमार सरकारले सशस्त्र प्रहरी विधेयक २०२१ विधानसभाबाट पारित भएको छ । नयाँ कानुनमा अदालतको वारेन्ट विना नै शंकाको आधारमा जो कोहीलाई पक्रेर जेल हाल्न सक्ने अधिकार प्रहरीलाई दिएपछि विपक्षीले आपत्ति जनाएका थिए ।