गोलभेँडाले पायो उचित मूल्य,किसान दंग
सर्लाही
सर्लाही जिल्ला गोडभेडा खेतीको लागि प्रख्यात रहेको छ । हरेक वर्ष गोलभेडा किसानले उचित मुल्य नपाएको कारणले गर्दा खेप्दै आईरहेका थिए । तर यस वर्ष किसानहरु उचित मुल्य पाएपछि खुसि देखिएका छन । जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडाले सिजनको अन्तमा मूल्य पाएको छ । केही हप्तादेखि अचानक मूल्यमा ओरालो लागेको गोलभेँडाले सिजनको अन्त्यमा फेरि भाउ पाएको भन्दै जिल्लाका तरकारी उत्पादक किसान खुशी भएका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका–७ मा रहेको लालबन्दी तरकारी बजारमा स्थानीय जातको गोलभेँडा प्रतिक्रेट रु २५० देखि रु ३०० र उन्नत जातको गोलभेँडा रु ४०० मा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताए । “केही दिन अगाडि सोही बजारमा प्रतिक्रेट रु १५० देखि रु २००मा गोलभेँडा बिक्री भइरहेको भए पनि सिजनको अन्त्यमा गोलभेँडाको बजार मूल्य अकाशिएको”, कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले भने ।
गोलभेँडाको मूल्य बढेपछि तरकारी उत्पादक किसान खुशी भएका छन् । गोलभेँडाको मूल्य घटेपछि आफ्नो लगानीसमेत नउठ्ने चिन्तामा परेका यस क्षेत्रका किसान यामको अन्त्यमा भए पनि गोलभेँडाको मूल्य बढेपछि दङ्ग परेका छन् ।
यामको शुरुआतमा किसानले प्रतिक्रेट रु एक हजारसम्म गोलभेँडाको मूल्य पाएका थिए । त्यसपछि विस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताए ।
जिल्लाको लालबन्दी, हरिपुर, बयलवास र हरिवन नगरपालिकाका स्थानीयवासी तरकारी उत्पादक किसानले व्यावसायिक रुपमा गोलभेँडाको खेती गर्ने गरेका छन् । यहाँबाट उत्पादन भएका गोलभेँडा काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठूला शहरको साथै छिमेकी देश भारतको सीतामाढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताएका छन् ।