भ्रष्टाचारी करार भएका गच्छदार किन सम्पर्क विहिन, यस्तो छ प्रकरण
ललिता निवासको जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले भ्रष्टाचारी प्रमाणित गरेपनि अहिलेसम्म न अदालत,न प्रहरी कतै हाजिर भएका छैनन् । अदालतले गच्छदारको म्याद तामेल भएको बताएपनि उनले सम्पर्क नराख्नुलाई रहस्यमय ठानिएको छ ।
अदालतका अनुसार म्याद तामेल भएपछि सम्पर्क राख्न आउनैपर्छ । अन्यथा,प्रहरीलाई पक्रेर ल्याउन अदालतले आदेश दिन पनि सक्छ । तर, म्याद तामेल रीतपूर्वक भएको हो वा होइन भन्नेमा नै आशंका गरिएको छ । ‘सेटिङ’ मा यदाकदा म्याद तामेल गरिएको हो भने त्यस्तो पनि हुनसक्ने आशंका छ ।
विशेष अदालतका अनुसार उक्त काण्डमा मुछिएका १ सय ७५ जनामध्ये अझै ३० जनाभन्दा बढीले सम्पर्क राखेका छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र बालुवाटार काण्डका नाइके शोभाकान्त ढकाल भने अहिले जेलमा छन् । तर,बाँकी सबै धरौटीमा छुटेको बताइन्छ ।
भाटभटेनीका मीनबहादुर गुरुङ सबैभन्दा धेरै २ करोड रुपैयाँ धरौटी रकम बुझाएर छुटेका हुन् । अन्य कतिपयले २ लाखदेखि २० लाख रुपैयाँसम्म बुझाएर छुटेका छन् ।
त्यसैगरी,नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबार नगदमा गर्न नपाइने व्यवस्था गरेपछि अदालतमा चेक बाउन्सका मुद्दाको चाप पर्न थालेको छ ।
स्रोतका अनुसार काठमाडौंमा मात्र दिनको १० देखि १२ वटा चेक बाउन्सका मुद्दा पर्न थालेको हो । सुको रकम मौज्दात नभएको खाताबाट लाखौं रकमको चेक थमाएर काम फत्ते गर्नेहरूको सञ्जाल बढ्दै गएको प्रहरीले बताएको छ ।
–जनआस्था