फुलजोर–त्रिभुवननगर सडक : घाम लाग्दा धुलो र पानी पर्दा हिलो

फुलजोर–त्रिभुवननगर सडक : घाम लाग्दा धुलो र पानी पर्दा हिलो


सर्लाही
पूर्व–पश्चिम लोकमार्गस्थित सर्लाहीको फुजोरबाट–त्रिभुवननगर सडकखण्डको निर्माणले गति लिन सकेको छैन । यसले गर्दा स्थानीय बासिन्दा दैनिक सास्ती खेप्न बाध्य भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले स्थानीय आजित भएका छन् । सडकले सुविधाभन्दा सास्ती बढी दिएको स्थानीय कपिल साहले गुनासो गरे ।     
तीन वर्षमा निर्माण सकिनुपर्ने यस सडक खण्ड चार वर्ष वितिसक्दला पनि अधुरै छ । रु ८६ करोडमा विसं २०७३ मा ठेक्का लागेको यस सडकको निर्माण ५० प्रतिशत पनि पूरा भएको छैन । “काममा ढिलासुस्ती हुँदा एक दर्जनभन्दा बढी गाउँका बासिन्दा हिलो र धुलोमा यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मापदण्डमा परेका घर स्थानीयवासीले भत्काएका छन् । काममा ढिलाइ भएको जनाउँदै स्थानीयवासी आक्रोशित बनेका”, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले भने ।     
त्रिभुवननगरबाट पूर्व–पश्चिम लोकमार्ग फुलजोरसम्म सडक कालोपत्र गर्न सन् २०१७ मै टुण्डी–आशिष–सन्तोषी (जेभी) कम्पनीले ठेक्का लिएको चार वर्ष बितिसकेको छ । यस अबधिमा करिब २५ किलोमिटर सडकको काम ५० प्रतिशत पनि नसकिएको छैन । रु ८६ करोड एक लाख ६६ हजारमा २५ किलोमिटर लामो यस सडक २०२० जुनमै निर्माण सकिनुपर्ने थियो । निर्माण अलपत्र परेपछि आगामी असार मसान्तसम्म म्याद थपिएको छ । अहिलेसम्म आधामात्रै काम भएकाले थपिएको समयमा पनि नसकिने निश्चित रहेको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले जानकारी दिए ।   
सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार आफूहरूको सम्पर्कमा नरहेको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष साहले बताए । ठेकेदारको लापरवाहीका कारण काममा ढिलासुस्ती भएको र दुर्घटना पनि बढेको उनको भनाइ छ ।     
सो सडक जिल्लाको ईश्वरपुर नगरपालिका, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिकासहित धेरै गाउँलाई पूर्व–पश्चिम राजमार्ग, सदरमुकाम मलङ्गवा र छिमेकी मुलुक भारतको बिहार राज्यसँग जोड्ने मुख्य सडक रहेको छ । ढिलाइ गर्ने ठेकेदारलाई कारवाही गरेर छिटो सडक निर्माण सक्न स्थानीयवासीले सरकारसँग पटक–पटक मागसमेत गरेका छन् ।     
निर्माणको ठेक्का पाएको कम्पनीका ठेकेदार जीवन कँडेल कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनका कारण काममा समस्या भएको बताए । उनले भने, “सडकमा प्रयोग हुने मेसिन चलाउने अपरेटर छिमेकी देश भारतबाट आउने भएका कारण कोरोना समयमा घर गएका अपरेटर ढिलो आउँदा काम ढिलो भएको हो । ” ठेकेदारले समयमा काम पूरा नगरेको जनाउँदै स्थानीयवासी शान्ता श्रेष्ठको नेतृत्वमा सो सडकखण्डमा पटक–पटक आन्दोलनसमेत भएको थियो ।     
 

सर्लाही सडकखण्ड फुजोरबाट–त्रिभुवननगर पूर्व–पश्चिम लोकमार्ग

संम्बधित खबर

विशेष