News राजनीति

विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता समिति

विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता समिति

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । दुई सदस्यीय समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वक्तव्य निकालेर ‘विप्लव’समूहसँग वार्ता गर्न समिति गठन भएको जानकारी दिएका हुन् । समितिका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले समिति गठन भएको र चाँडै वार्ता थालिने बताए ।

पछिल्लो समय पुष्पकमल दाहाल समूह छाडेर ओली समूहबाट खानेपानी तथा सरसफाईमन्त्री बनेका मणि थापा विप्लव समूहका नेताहरुसँग निरन्तर अनौपचारिक कुरा गरिरहेका छन् । 

त्यसलाई औपचारिकता दिन वार्ता समिति गठन गरिएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै चन्द समूहसँग वार्ता थाल्ने घोषणा गरेका थिए । मोरङको विराटनगरमा आयोजित सभामा ओलीले वार्ता गर्ने बताएकै दिन विप्लव समूहले वक्तव्य निकालेर वार्तामा बस्न तयार रहेको जनाएको थियो ।

तर, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला सुनाएपछि केहि दिन वार्ताको वातावरण अवरुद्ध भएको थियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ औपचारिक वार्ता

विशेष