मिथिला परिक्रमा जनकपुर आई पुगे

मिथिला परिक्रमा जनकपुर आई पुगे


जनकपुरधाम
मिथिला नगरी जनकपुरको सेरोफेरोमा पन्ध्र दिनसम्म घुमिने मध्यमा परिक्रमाका सहभागीहरु शनिवार बिहान  जनकपुर आई पुगेका छन । जनकपुर आएका परिक्रमा आईतवार जनकपुरको वरिपरि घुमेर सम्पन्न हुने गर्छ । दुई साताअघि धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट बाजागाजा तथा लावालस्करसाथ निस्केको धार्मिक यात्राका सहभागीहरु १ सय ३३ किलोमिटरको पैदल यात्रा सकेर जनकपुर फर्किएका हुन् ।

मिथिला विहारीको डोलाको नेतृत्वमा पन्ध्र दिनसम्म घुमिने यो यात्रा यस भेगकै सबभन्दा लामो समयसम्म चल्ने धार्मिक यात्रा हो । परिक्रमामा सहभागी हुनेले नेपालमा १ सय ५ तथा भारतमा २८ गरी कुल १ सय ३३ किलोमिटरको पैदल यात्रा गर्छन । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापित चार शिवालय कलानेश्वरनाथ, जलेश्वरनाथ, क्षीरेश्वरनाथ तथा सप्तेश्वरनाथ महादेवलाई आधार मानी परिक्रमा गर्ने परम्परा छ ।कचुरीबाट सुरु भएको यो यात्रा जनकपुर, कलानेश्वर, फुलहर, मठिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल, कलना हुँदै पुनः जनकपुर फर्किएको हो ।यस भेगमा अन्तःगृह परिक्रमाको भोलिपल्ट फागु पर्व मनाउने परम्परा छ । जनकपुरमा सोमबार फागु पर्व मनाइँदैछ ।

फागु पर्वलाई लक्षित गरी प्रदेश २ सरकारले मंगलबार पनि बिदा घोषणा गरेको छ । परिक्रमाका भक्तजनहरुलाई गाउँवासीहरु अत्यन्त उत्साह, श्रद्धा अनि आतिथ्यका साथ राख्दछन् । धनी गाँउलेहरुले भक्तजनका लागि भण्डाराको व्यवस्था पनि गर्दछन भने गाँउलेहरु विभिन्न मिठाई, खाना अनि आतिथ्यले भक्तजनको सहृदय स्वागत गर्ने चलन वर्षौदेखि छ । परिक्रमाको अन्तको दिन जनकपुरमा लगभग ८ किमी शहर वरिपरि परिक्रमा गरिन्छ, एउटा रौनकमय मेला नै लाग्दछ ।
परिक्रमामा धार्मिक, जातिगत या अन्य कुनै पनि भेदभाव रहँदैन, परिक्रमा गर्ने भक्तालुहरु समान अनि विशिष्ट मानिन्छ । महिलाहरुलाई यी परिक्रममा भाग लिन विशेष उत्साह दिने र प्रेरणा दिने चलन छ । यी मध्ये कुनै पनि परिक्रमा जीवनमा एकफेर निष्ठापूर्वक गरिएमा परमात्मा प्राप्त हुने र मोक्ष मिल्ने विश्वास छ । परिक्रमाबाट प्राप्त हुने पुण्य अरुलाई दिन मिल्ने मानिन्छ, यदि कसैलाई परिक्रमाको उत्कट चाहना भएपनि स्वास्थ्य या अन्य कुनै दुर्बलताले गर्न नसकेमा उक्त व्यक्तिको साटो कसैले निष्ठापूर्वक परिक्रमा गरेमा फल उक्त व्यक्तिलाई जान मिल्ने बताइन्छ ।

मिथिला प्रदेश सभ्यता, संस्कार अनि पवित्रताको उदगमस्थल हो, के वृद्ध अनि के बालक सबैजना परिक्रममा समावेश हुने गर्दछन् । जलाशयहरुको भूमिमा पवित्र जल अनि पावन माटोको स्पर्शले भक्तालुहरुको रोम रोम पुलकित हुन्छ । यसपालाको अन्तगृह परिक्रमा फागु पूर्णिमाका दिन विधिवत अन्त्य भएको छ ।
 

जनकपुरधाम परिक्रमा मिथिला नगरी जनकपुर

संम्बधित खबर

विशेष