News अन्तरवार्ता भिडियो

विश्लेषक केसी भन्छन्– हान्ने राँगो जस्तो भएर भित्ता हान्दै हिड्ने प्रचण्डका दिन गए [भिडियो अन्तरवार्ता]

विश्लेषक केसी भन्छन्– हान्ने राँगो जस्तो भएर भित्ता हान्दै हिड्ने प्रचण्डका दिन गए [भिडियो अन्तरवार्ता]

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले ‘हान्ने राँगो जस्तो भएर भित्ता हान्दै हिड्ने’ प्रचण्डका दिन अव सकिएको वताएका छन् । नेपाल आजको नियमित स्तम्भ ‘इतिहाँस र अनुभुती’ मा कुरा गर्दै डा. केसीले यस्तो वताएका हुन् ।

‘अहिले प्रचण्डको राजनीतिक पोजिशन कस्तो देख्नु हुन्छ’ भन्ने जिज्ञासामा केसी भन्छन्–‘केहि मानिस दाहिने देव्रे भएपनि आम मानिसहरु चाहि उनको पार्टीमा लामवद्ध नै देखिन्छ। अरुले भने जस्तो प्रचण्डको धर्ती खस्किन्छ जस्तो चै मलाई लाग्दैन। तर, जुन किसिमको हान्ने राँगो जस्तो भएर हिड्थे त्यसरी चाहि अव भित्ता हान्दै हिड्नलाई उनलाई गाह्रो भईरहेको छ।’

यहि असहजताका कारण प्रचण्डले अहिले वाईसिएलको कुरा गर्न थालेको उनको दावी छ । ‘मलाई के लाग्छ भने वाईसिएलवाट भएन भने लडाकुहरु पनि पुनर्जिवित हुन्छन्, प्रचण्ड त्यो हदसम्म जान्छन् अव’ उनी भन्छन्–‘त्यो त कसैको लागि पनि सहज कुरा भएन। विस्तृत शान्ति सम्झौताको मर्म पनि त्यो होईन। अव यस्को जिम्मेवारी कस्ले लिने त ? आजको प्रश्न यहि हो।’ 

प्रचण्ड शान्ति प्रकृयामा आउनुको औचित्य पुरा नभएको र ब्यक्तिगत स्वार्थवाट लक्षित भएको वताएका उनले थपे–‘जनसेना विघटन गरिदिए, जनसेनाको नाममा आएको आर्जन पनि विचलन गरेको भन्ने छ। यस्तो मान्छे फेरी जनसेना, फेरी वाईसिल भन्नु त नैतिक दृष्टिकोणले नमिल्ने हो ।’

प्रचण्डले जनसेना ब्युँताउँन सक्ने दावी गरेका केसीले भन्छन्–‘सम्भावना प्रवल छ। उनले भनेकै छन–म त विद्रोही कमाण्डर हुँ। अनि वाईसिएल पुनर्गठन हुँदैछ अरे भनेको पनि सुन्दैछु म आजभोली। वाईसिएल पुनर्गठन भनेको त फेरी मान्छेको टाउकामा डण्डा हान्ने नै कुरा हो। वाईसिएलको चरित्र त त्यहि हो, त्यहि गर्छ त्यसले ।’ 

देश फेरी द्वन्द्वमा जाने भन्दा अर्को विकल्प आफुले नदेखेको उनले वताए । प्रचण्डसँग अहिले पनि जनयुद्ध हाँक्ने सामथ्र्य रहेको वताएका उनले यसअघि दिल्लीमा वसेर पनि उनले नेपालमा द्वन्द्व चर्काएको वताए । ‘संगठन पद्धतीमा चल्ने हो । नेता कहाँ छ भन्ने थाहा नपाई त आन्दोलन चल्छ भने अहिले नचल्ने भन्ने हुँदैन। हिजो प्रचण्डले जनयुद्ध लडेको हो र ? उनी दिल्लीमा सुतेर वसेका हुन्। कत्रो जनयुद्ध हुन्थ्यो त यहाँ’ केसीले भने–‘त्यो मेसिनले चलाउने हो, संयन्त्रले चलाउने हो। नीति दिए पुगिहाल्छ। कार्यकर्ता लड्ने हुन, मर्ने उनै हुन । हिजोको युद्धमा पनि एउटा नेता मर्यो र ? एउटा नेताका छोराछोरी मरेका छन् ? उनीहरु त पिएचडी गर्दैथिए–त्यतिवेला। वोर्डिङ्ग स्कुलमा पढ्थे नेताका छोराछोरी। अर्थोपार्जनमा लागेका हुन्थे।’

‘एमालेको माधव नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलालाई कसरी हेर्नु हुन्छ?’ भन्ने प्रश्नमा भने केसीले त्यो त कुटाई खाने काम हो भने । ‘कम्युनिष्ट पार्टीमा त्यसो गर्न पाईदैन । कम्युनिष्ट पार्टीमा कहाँ समानन्तर पार्टी गठन गर्न पाईन्छ, कुटाई खाँइदैन ? हाम्रा पालामा अखिलको समानान्तर भेला हुन खोजेको थियो, झण्डै गोदाई खाएका थिए । ०३६ सालतिर काग्रेसका वखान सिंह वालाहरुले डिल्ली वजारको सांस्कृतिक केन्द्रमा कुटाई नै खाए’ उनले भने –‘तर, जवरजस्ति गरेपछि कस्को के लाग्छ र ?’

पार्टी पद्धतीमा अल्पमत वहुमतको सिस्टम हुने र अल्पमत वहुमतको सिस्टम पार्टीको प्रकृयावाट अगाडि वढ्ने वताएका उनले जवरजस्ति गरेर केहि कुराको अर्थ नहुने वताए । ‘यिनीहरुको कुरा चाहिँ के छ भने, नेकपा एउटै हुँदा यो काम केपी ओलीले विगारेको भन्ने छ। कुनै वैठकमा नआईदिने, मान्दिन तिमिहरुको कुरा भन्दिने। यस्तो गरेकाले हामी यो ठाउँमा आईपुगेका भन्ने यिनीहरुको तर्क छ’ उनले भने–‘मेरो भनाई चाहि त्यो भएपनि नेतृत्व त झेल्नु पर्छ, अव गर्ने के त ? उ जनतावाट निर्वाचित भएर आएको हुन्छ, संसदिय दलको नेतृत्व जितिराखेको हुन्छ। पार्टी महाधिवेसनवाट अध्यक्ष भएर ५ वर्षको लागि चुनिएर त्यहाँ पुगिराखेको हुन्छ। अव तपाई यसलाई पद्धती भन्दा पर गएर समानान्तर कमिटि गठन गरेर, वक्तब्य निकालेर हुन्छ ?’

महाधिवेसनवाट निर्वाचित पदाधिकारीको पद खारेज गरेर ओलीले चाही गल्ति गरेको केसी वताउँछन् । ‘अदालतले एमाले–माओवादी वनाएपछि पहिलो वैठक आयोजना गरेर समिक्षा गर्दै सहमतिमा अगाडि वढ्नु पथ्र्यो । त्यो भएन । पदाधिकारी हटाई दिएको छ अनि अर्कोतर्फ २२ जना थपेपको छ’ उनले भने–‘तर, माधव नेपाल पक्षले पनि कम गाईजात्रा त गरेको छैन । टाँसिएको छ पेरिसडाँडामा गएर, जोडिएको छ घाँटी प्रचण्डसँग, पार्टी क्याप्चर गरेर फेरी एकता गर्ने भन्दिराखेको छ। यो त नेतृत्वले सहँदैन, माधव नेपालले पनि सहँदैन यो कुरा। कसैले पनि सहँदैन। यो हो केन्द्रिय डिभेटको कुरा, केन्द्र चै यहाँ हो ।’

विगत अनुसारको वर्तामानः हिजो माधवले जे गरे, आज त्यहि भोग्दैछन्
कम्युनिष्ट पार्टीको विगतदेखि वर्तमान सम्मको कृयाकलाप स्मरण गरेका डा. केसीले हिजोका दिनमा माधव नेपालले सिपी मैनालीहरुसँग गरेको ब्यवहार अहिले आफुले भोगिरहेको तर्क गरे । ‘कुनै वेला सिपी मैनालीले भन्थे– जुन वेला मैले अपमान सहन छोड्छु, त्यहि वेला पार्टी विभाजन हुन्छ भनेर। लामो समयसम्म उनले पनि यसरी नै अपमान सहे। त्यो अपमानित गर्ने यिनै माधव नेपालहरु हुन फेरी। आरके मैनालीको कुरा पनि त्यही हो’ स्मरण गर्दै उनले भने–‘वामदेव त यस्तो गर्नेहरुलाई काटेर नुन चुक लगाउनुपर्छ भन्थे। खाल्टो खनेर पुर्नुपर्छ पनि भन्थे। यि सव कुराहरु हिजो नभएका भन्ने होईन नी। उनीहरुले पुरै एउटा पार्टीको संरचनात्मक पद्धतीलाई उलंघन गरेको विगत छ। अव यो वाटोमा नगईदिएको भए हुन्थ्यो भन्ने हाम्रो शुभकामना हो।’


कांग्रेसलाई दुवै हातमा लड्डु
डा. केसीले कम्युनिष्टहरुको झगडाले नेपाली कांग्रेसलाई फाईदा पुगेको जिकिर गरे । उनी भन्छन्– ‘यिनीहरुले नै कितिस्मा राखेर अहिलेकै सरकारको प्रधानमन्त्रीत्व गर्न दिए भनेपनि नो प्रोबलम। होइन भने ढिलोचाँडो जहिले चुनाव हुन्छ सुविधानको वहुमतमा आउने देख्छ – नेपाली कांग्रेस। शेरवहादुरले भनेका पनि छन्– तिमीहरुले भोट हाल्ने वेलामा कम्युनिष्टलाई हाल्यौ। जसले हाँस्न, रुन, वोल्न पनि दिदैन। त्यस्ता हरामीलाई गएर तिमिहरु भोेट हाल्ने, अनि अहिले मलाई प्रधानमन्त्री हुनका लागि भन्ने ? म तिमिहरुको थाङने प्रधानमन्त्री हुन्न पनि भनिदिए– शेरवहादुरले।’

अव शेरवहादुर जस्तो प्रधानमन्त्रीका लागि ज्यानै फाल्ने नेतासम्मले पदका लागि वेवास्ता गर्नु भनेको त हाम्रा वामपन्थि साथीहरुले राजनीति कहाँ पुर्याएछन् भन्ने नाङ्गो प्रकटिकरण हो नी भन्दै ब्यंग्य गरे। ‘तर, उनीहरु दुईटै गएर हजुर प्रधानमन्त्री...। यिनीहरुले लाज घिन सवै गुमाईसके। निर्लज्ज जस्तो लाग्छ मलाई’– उनले थपे।

‘एमसिसी र विआरआईको कारणले प्रम ओली र शेरवहादुर देउवा एकै ठाउँमा आउँछन भनिन्छ नी ?’ भन्ने जिज्ञासामा त्यस्तो हुन पनि सक्ने केसीको भनाई छ । ‘त्यस्तो हुन पनि सक्छ। किन भने एमसीसी भनेको प्रचण्डले ल्याएको हो । प्रचण्डकै नेताहरु एमसीसीको विरोध गरेर हिड्छन्, किताव लेखेर हिड्छन् । तिनीहरुलाई थाहा छ की छैन, यो एमसीसी भनेको ल्याएको प्रचण्डले हो’ उनले भने–‘प्रचण्ड पार्टीको अध्यक्ष, वावुराम प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा यसको प्रारुप वनेको हो । यसलाई लिएर अर्थमन्त्रालयमा एउटा विभाग छुट्टै छ। त्यो अन्तर्गत युवराज खतिवडा अर्थमन्त्री हुँदा एमसीसीको कुरा उठाए। त्यसको चर्को विरोध गर्ने भिम रावल थिए। जो एउटा क्याविनेटको उपप्रधानमन्त्री थिए । त्यतिवेलाको प्रधानमन्त्री केपी ओली थिए । ६ वटा सरकार यस्मा संलग्न छन् र सवै एमसीसीवादीहरु हुन ।’

एमसीवाट कोहि अछुतो नरहेको र खाली क्रान्तिकारी देखिन मात्र विरोधका लागि विरोध भईरहेको वताएका केसीले आवश्यक्ता पर्दा सवै जना एकै ठाउँमा आउने दावी गरे ।

प्रचण्डले चाहे १ मिनेटमा सरकार सकिन्छ
पछिल्लो राजनीतिक घटनाक्रमलाई नौलो कुराका रुपमा लिन नहुने केसी वताउँछन् । स्वार्थ केन्द्रित, आत्म केन्द्रित, पद केन्द्रित यो कुनै पनि विषय नौलो कुरा होईन । कम्युनिष्ट भन्नेहरुको उल्लेख्य विजय÷प्रचण्ड विजयपछि त्यस्तो हुँदैनकी भन्ने कतिपय मान्छेको अपेक्षा थियो। त्यो अपेक्षा धुलोमा मिल्यो। नयाँ कुरा केहि छैन । यो संविधान अन्तर्गत कसैको वहुमत हुँदैन भन्ने मान्यता थियो, त्यसलाई झुठो सिद्ध गरेर नेकपाले सुविधाको वहुमत पायो। उपेन्द्र पनि थपिदा दुई तिहाई भयो । त्यहि दुई तिहाईलाई म्यानेज गर्दै अगाडि जान्छन र केहि युगान्तकारी केहि गर्छनकी भन्ने अपेक्षा थियो। 

‘ओलीलाई दुई तिहाई चाहिएको रैनछ नी त ? उपेन्द्र यादवलाई सुरुमै आउट गर्नुभो, प्रचण्डसँग पनि राम्रो सम्वन्ध भएन, माधव नेपालहरुलाई पनि लखेटेको लखेटै हुनुहुन्छ। मान्छेहरुले गाउँमा डोजर लगाए जसरी नै केपी ओलीले डोजल चलाई राखेका छन् भन्छन् ?’ भन्ने प्रश्नमा उनी भन्छन्–‘पार्टी पद्धतीमा इर्दगिर्द कुरा त त्यति सहज हुँदैन नी त । माधव नेपालहरुले पनि त त्यो पद्धती अनुसार आफुलाई राखेका छन् की वाटो विराएका छन् भन्ने कुराको त्यतिकै महत्व हुन्छ। प्रचण्डको कुरा अर्के हो, मावधकुमार नेपालहरुको कुरा अर्कै हो । प्रचण्ड र केपी ओलीको चै कथित पार्टी एकता थियो, त्यो नै स्वार्थ एकता थियो। पार्टी एकता थिएन । उनीहरुले एउटा भ्रम छरे–यो पार्टी एकता हो अव हामी टुट्दैनौ भनेर। त्यो सवै ठगी थियो।’

अहिलेको सरकार प्रचण्डकै कारण टिकेको उनको दावी छ । ‘प्रचण्ड अनिर्णयमै वसिराखेका छन्, प्रचण्डले सरकारवाट समर्थन फिर्ता लिएको १ मिनेटमै यो सरकारको आयु सकिन्छ। प्रचण्डले निर्णय गरेको भोलिपल्टै यो सरकार गईहाल्छ’ उनी भन्छन्–‘केहि कानुनी ब्यवधान होकी। केहि सांसदहरु त्यहाँवाट पनि वाहिरिने र निर्णायक रुपमा पराजित हुने डर छकी। माधव नेपालहरुको घोडा चढेर एमाले नै कब्जा गर्न सकियो भने फेरी यथावत पार्टी एकता गर्ने दुराषय पनि उनको मानसपटलमा छ की ? केहि पनि भन्न सकिदैन । किन भने यो विचार सिद्धान्तसँग जोडिदैन। देश जनतासँग पनि जोडिदैन। स्वार्थ, उत्तेजना, आत्मकेन्द्रित भयो भने त जे पनि सम्भव छ।’


विदेशीको चासो स्वभाविक हो 
नेपालको भौगोलिक सामरिकताका कारण राजनीतिमा विदेशीको चासो र संलग्नतालाई सामान्य रुपमा लिनु पर्ने उनले वताए । ‘विदेशीको चासो चाहि आफनो ठाउँमा अस्वभाविक हुँदैन । नेपालको भौगोलिक सामरिकता जस्तो छ ,त्यो सामारिकतामा विदेशीहरुले आफनो चासो, चिन्ता, स्वार्थ निश्चय नै देखाउँछन् र वोकेका पनि हुन्छन् । अस्वभाविक पनि होईन, तर ति विदेशीलाई कहाँ राख्ने भन्ने कुरा त हाम्रो हातमा छ’– उनले भने । 

प्रधानमन्त्री ओलीले चाहि विदेशीको चासोलाई कसरी सम्वोधन गरिरहेका छन् भन्ने विषय अन्यौलपुर्ण रहेको उनले वताए । ‘वाहिर भन्दा जहाँ राख्नु पर्ने हो, एउटा सार्वभौम सत्ता सम्पन्न मुलुकको प्रधानमन्त्रीले त्यहि राखेको जस्तो। भित्र भित्र नराखेको जस्तो। त्यसैले लोकतन्त्रमा पारदर्शीता महत्वपुर्ण सर्त हुन्छ। त्यो पारदर्शी छैन’ उनले भने–‘जस्तो विपी कोईरालाका पालामा दरवारलाई भेटनु पर्यो भने पनि प्रधानमन्त्री मार्फत जाने भन्ने थियो। दरवारलाई त्यो कुरा मन परेको थिएन। पछि उपेन्द्र यादव परराष्ट्र मन्त्री भएको वेला राजदुतहरुले पनि गर्ने कुनै पनि गतिविधि र सम्पर्कहरु परराष्ट्र मन्त्री मार्फत गर्नु पर्छ भन्ने पोलिसी लिएर आए। त्यो पनि स्विकार्य भएन । त्यस कारणले एउटा ठोस निती छैन हाम्रो देशमा।’

हरेक राजनीतिक परिवर्तनमा विदेशीको चासो हुने गरेको स्विकार्दै उनले त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चै नेताहरुको अडानमा भर पर्ने वताए । ‘जस्तो ०७२ को संविधान चै केहि नभए पनि १५ दिन कुरेर घोषणा गरौं भन्ने कतिपय राष्ट्रको चासो थियो । भारतका विदेश सचिव नै आएका थिए नेपालमा। तर, उनीहरुको जोडवलले काम गरेन। नेपाली नेताले संविधान जारी गरिदिए’ उनले भने–‘चासो हुनु एउटा कुरा हो र त्यसलाई कहाँ राख्ने भन्ने चै अर्को कुरा हो । नेपाली नेताहरुको एउटा प्लस पोईन्ट के छ भने उनीहरु भारतीय स्वतन्त्र संग्रामका सेनानीहरु हुन् । मनमोहन २ वर्ष जेल नै वसेका थिए, विपी कोईराला पनि वसेका थिए। सवैको भारतीय स्वतन्त्रता संग्राममा संलग्नता छ र भारतीयहरु स्वतन्त्रता सेनानीलाई उच्च स्थानमा राखेर हेर्छन । त्यो फाईदा पनि हाम्रो नेतृत्वलाई थियो, तर उनीहरुले त्यो फाईदालाई चै संस्कारको रुपमा स्थापित गर्न सकेनन्।’

जथाभावी वोल्ने, कहिले १९५० को सन्धि पुनरावलोकन गर्छु भन्ने, कहिले इपीजी गठन गर्ने भन्ने, सुरुङ्ग युद्ध गर्छु भन्ने, कहिले गोटिसँग कुरा गर्दिन–रिमोटसँग मात्रै कुरा गर्छु भनेर कुर्लिने। तर कुनै पनि कुरा तार्किक निस्कर्षमा नपुग्ने। खाली मित्रराष्ट्र विरोधी नारा लगाउने अनि सुटुक्क फेरी धाईदिने । यो ब्यवहारले विश्वसनीयता खस्किएको उनले दावी गरे । 

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईँले गरेको रोचक कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

प्रा.डा. सुरेन्द्र केसी प्रचण्ड इतिहाँस र अनुभुती

विशेष