News शेयर

कमिसनका कारण चीनियाँ जहाज ल्याउँदा राज्यलाई अरबौको नोक्सानी

कमिसनका कारण चीनियाँ जहाज ल्याउँदा राज्यलाई अरबौको नोक्सानी

नेपाल वायु सेवा निगमले ६ वर्षअघि खरिद गरेका ६ वटा चीनियाँ जहाज (एउटा दुर्घटनामा परेको) वेच्ने तयारी गरेको छ । नाफा कमाउने भन्दा पनि जहाज उडाउँदा नोक्सान भएको र ग्राउण्डेड गर्दा पनि खर्च वढिरहेकाले सवै जहाज वेच्ने तयारी गरिएको हो ।

चीनियाँ कम्पनी एभिक इन्टरनेशनल होल्डीङ करपोरेशनसँग खरिद गरिएका ६ मध्ये ५ वटा जहाज विगत आठ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छन्। एउटा (वाई १२ ई) जहाज भने गत चैतमा नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना संक्रमण तिव्र रुपमा वढिरहेका वेला पिसिआर परिक्षणका लागि स्वाव लिन गएको उक्त जहाड पुर्ण रुपमा क्षती भई उडाउनै नमिल्ने अवस्थामा पुगेको छ ।

निगमले गत असार १६ गते चिनियाँ जहाज नउडाउने निर्णय गरेपछि पाँच वटा जहाज ग्राउण्डेड भएका हुन । जहाज उडाउँदा वार्षिक  ५० करोड हाराहारीसम्म घाटा हुने गरेको कारण देखाउँदै साउनदेखि सबै चिनियाँ जहाज नउडाउने निर्णय गरिएको थियो । जसका वारेमा पर्यटन मन्त्रालयलाई आफ्नो निर्णय सदर गरिदिन निगमले पत्राचार गरेको थियो भने मन्त्रालयले अर्थलाई पत्राचार गरेको थियो। अर्थले केहि समय अघि मात्रै ति विमान ग्लोबल टेन्डर मार्फत लिजमा दिन वा बिक्री गर्न सहमति दिएको निगमले जनाएको छ ।

निगमका अधिकारीहरुले ति जहाज उडाउँदा अत्यधिक इन्धन खपत भएको, अन्य जहाजको तुलनामा यात्रु क्षमता कम (आधा मात्र) भएको तथा चिनियाँ पक्षबाट पार्टपूर्जा र तालिममा असहयोग भएकाले लगातार घाटा भएको वताउँदै आएका छन् । ‘जहाज उडाएर ०७१ यताका ६ वर्षमा २ अर्ब ३० करोड वरावर घाटा भएको छ’ निगमका एक अधिकारी भन्छन्–‘चीनियाँ जहाज निगमका लागि सेतो हात्ति पाल्नु वरावर भएको छ ।’

निगमले आव ०७३/७४ मा चिनियाँ जहाज उडाएर १९ करोड ११ लाख रुपैयाँ कमाएको थियो भने यी जहाज उडाउन ५३ करोड ७ लाख रुपैयाँ खर्च भएको थियो । आव ०७४/७५ मा पनि २३ करोड १५ लाख रुपैयाँ आम्दानी गरे पनि ८० करोड ७७ लाख रुपैयाँ खर्च भएको थियो । यसैगरी, आव ०७५÷७६ मा पनि चिनीयाँ जहाज उडाएर घाटानै भएको अधिकारीहरु वताउँछन् ।

अधिकारीहरुका अनुसार प्रशिक्षक पाइलट, क्याप्टेन, स्पेरपार्टस्, महँगो बिमालगायतका कारण जहाज उडानमा समस्या छ । बिग्रेको विमान बनाउन आवश्यक पर्ने स्पेयरपार्टस् चीनबाट ल्याउँदा धेरै समय लाग्ने गरेको उनीहरु वताउँछन्। एभिकले हवाईमार्गबाट नभई पानीजहाजको बाटो हुँदै सडकमार्गबाट स्पेयरपार्टस पठाउँने गरेको र यस्ले गर्दा जहाज धेरै दिन ग्राउन्डेड हुने गरेको उनीहरुको भनाई छ।

जहाजसँग दख्खल राख्ने पाइलटको पनि अभाव भएको उनीहरुले वताए । यो समस्या खास गरी १७ सिट क्षमताको वाई १२ ई विमानमा देखिएको छ । 

अर्कोतर्फ, निगमका चिनियाँ जहाज ग्राउन्डेड हुँदा पनि खर्च भने वढिरहेको छ । जहाज नउड्दा पनि त्यसको मर्मतसम्भार, बिमा रकम तथा पार्किङ शुल्कमा खर्च हुने गरेको छ। जहाज नउडाए पनि बिमा र पार्किङ शुल्क अनिवार्य छ।

चिनियाँ जहाजको बिमा शुल्क अन्य आन्तरिक उडानका जहाजको तुलनामा झन्डै दोब्बर बढी रहेको निगमका अधिकारीहरू बताउँछन्। अन्य जहाजको बिमा कुल रकमको १.५ प्रतिशतदेखि बढीमा ७ प्रतिशतसम्म तिर्नुपर्दा चिनियाँ जहाजको भने १२ देखि १५ प्रतिशतसम्म तिनुपर्छ।

जहाज आएको ६ वर्षमा निगमले एमए–६० को मात्र ६२ करोड १६ लाख र वाई–१२ को ४७ करोड ४७ लाख जम्मा १ अर्ब ८ करोड ६३ लाख बिमा शुल्क मात्र तिरिसकेको छ। निगमले ६ वर्ष यता वाई–१२ को ल्याण्डिङ÷पार्किङ शुल्क मात्र वार्षिक ४९ लाखसम्म तिरेको छ। एमए–६० को भने यस्तो शुल्क वार्षिक १० लाखसम्म तिरेको निगम श्रोतले जनाएको छ ।

चीन सरकारका उत्पादन अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने एजेन्ट कम्पनी एभिकले ०६८ मंसिरमा दुई फरक कम्पनीले उत्पादन गरेका ५७ सिट क्षमताका दुई वटा एमए–६० र १९ सिट क्षमताका चारवटा वाई १२–ई विमान बिक्रीका लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो ।

निगमलाई चीनले सुगम भेगको उडानका लागि ५७ सिट क्षमताका दुई वटा एमए–६० र दुर्गम तथा हिमाली भेगको उडानका लागि १९ सिट क्षमताका चारवटा वाई१२–ई विमान उपलब्ध गराएको थियो । ०७१ पछि पटक–पटक गरेर ६ वटा जहाज नेपाल आएका हुन् । यी जहाजको लागत मूल्य ४ अर्ब ३३ करोड हो । चीनले एउटा एमए–६० र एउटा वाई१२–ई अनुदानमा दिएको थियो भने बाँकी चारवटा सहुलियतपूर्ण ऋणमा उपलब्ध गराएको थियो ।

आवश्यक अध्ययन नै नगरी खरिद गरिएका यि जहाज उडाएपनि घाटा र राखेपनि घाटाको अवस्था आएपछि विक्रि गर्ने योजना वनेको जनाईएको छ । तर, कमिशनका लागि जथाभावी जहाज खरिद गर्ने अर्को पाटो भने अझै पनि गौण भएको निगमका केहि अधिकारीको भनाई छ । ‘निगमलाई नै डुवाउने गरी जहाज कसरी खरिद भए ? अहिलेसम्म खोजिको विषय वनेको छैन’ एक अधिकारी भन्छन्–‘ब्यक्तिगत फाईदाका लागि भएका यस्ता काममा संलग्नलाई कारवाही गर्ने हिम्मत पनि गर्नु पर्यो नी।’

कमिसन नोक्सान चीनियाँ जहाज ग्राउण्डेड

विशेष