मिथिला अन्तगृह परिक्रमा घुम्दै श्रद्धालु
जनकपुरधाम
विश्वको लामो धार्मिक यात्राका रुपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा आइतबार जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ ।
धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन शुक्ल औँसीका दिन शुरु मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान घुम्दै शनिवार साँझ जनकपुर आइपुगेको थियो । आइतबार बिहान जनकपुरको पञ्चकोशी (अन्तरगृह) परिक्रमा गरी यात्रामा सहभागी नेपाल तथा भारतका सम्पूर्ण तीर्थयात्री घर फर्केका छन् ।
हिन्दु धर्मको प्रसिद्ध ग्रन्थ ‘मिथिला महात्म्य’ का अनुसार यो परिक्रमा १८औँ शताब्दीदेखि शुरु भएको भन्न सकिन्छ । जनकपुरस्थित सुन्दर सदनका महन्त नवलकिशोर शरणका अनुसार प्राचीन मिथिलाका राजा जनकको दरबार र आसपास क्षेत्रको परिक्रमा गर्दा पुण्यप्राप्ति हुने विश्वास छ । उनले भने, “मिथिला क्षेत्रका बासिन्दाले मर्नु अघि कम्तीमा एकपटक मध्यमा परिक्रमामा सहभागी हुँदा मरणोपरान्त राम्रो हुने जनविश्वास छ । त्यसैले यो परिक्रमामा वृद्धवृद्धाको सहभागिता बढी हुने गर्दछ ।”खासगरी रामायणमा वर्णन गरिएबमोजिम राम र सीताले घुमेको प्रसिद्ध धार्मिकस्थलहरूको दर्शन गर्न यो परिक्रमाको थालनी भएको जनकपुरका साधुसन्तहरूको भनाइ छ ।
हरेक वर्ष फागुन शुक्ल औँसीको दिन शुरु हुने यो परिक्रमा पूर्णिमाको दिन जनकपुरमा अन्तरगृह घुमेर सकिन्छ ।जनकपुरधामको पिराडी चोक, मिल्स एरिया, भानु चोक, कदम चोक, विषहरा चोक, मुरली चोक, भ्रमरपुरा चोक, ज्ञानकुप हुँदै पुनः पिराडी चोकसम्म आइपुग्दा करिब पाँच किलोमिटर पुग्छ । यो परिक्रमालाई पञ्चकोशी परिक्रमा पनि भनिन्छ । मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसक्नेले कम्तीमा अन्तरगृह घुम्नुपर्ने बताइन्छ । जनकपुरको अन्तरगृह परिक्रमा गरेको भोलिपल्ट मात्रै जनकपुरमा होली खेल्ने चलन छ ।