वार्ताका लागि विप्लवको सर्तः पार्टीमाथिको प्रतिबन्ध फुकुवा र नेता/कार्यकर्ताको रिहाइ
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य वार्ता टोली बनाएको छ ।
वार्ता टोलीमा उदय चलाउने सदस्य छन् । वार्ता टोलीको आधिकारिक नाम भने सार्वजनिक गरेको छैन ।
सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो ।
टोलीमा रहेका सदस्यहरू र वार्ताप्रतिको धारणाबारे केहीबेरमा विज्ञप्ति निकालेर सार्वजनिक गर्ने तयारी भइरहेको चन्द नेतृत्वको नेकपा स्रोतले जनाएको छ ।
विप्लव समूहले सरकारसँग वार्ताको लागि प्रकाण्डको नेतृत्वमा धर्मेन्द्र बास्तोला र चिरन पुन सदस्य रहेको ३ सदस्यीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर हुन लागेको बताइएको छ ।
विप्लव समूहले वार्ताको लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता/कार्यकर्ताहरूको रिहाइ हुनुपर्नेलगायतका माग अघि सार्दै आएको छ ।