कांग्रेस र जसपा मिल्दा पनि कम्युनिष्ट सरकारको विकल्प तयार हुँदैनः राजेन्द्र महतो
जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले प्रतिपक्षमा रहेका कांग्रेस र जसपा मिल्दा पनि कम्युनिष्ट सरकारको विकल्प तयार नहुने वताएका छन् ।
मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको भन्दै यस्तो वताएका हुन्। ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपालाई मात्रै रहेको महतोले बताए। नेता महतोले भने–‘काँग्रेस र जसपा मिलेर पनि हाम्रो बहुमत पुग्दैन। ओलीलाई प्रधानमन्त्रीबाट हटाउने नेकपाले नै हो । अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ। खोइ त हटाएको? हटाउन सक्नुपर्यो नि! दुनियाँलाई झुक्याउने काम भइरहेको छ।’
नेकपा कानुनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ। कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको उनले बताए। ‘राजीनामा माग्ने कुरा होइन, अनुभूति गरेर स्वतः दिने कुरा हो। केपी ओलीमा पनि नैतिकता भएको भए पद छोड्थे।’– उनले भने।
नेता महतोले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग नभएको पनि बताए। ‘रिहाइ नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ । हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन’– उनले भने ।
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरूहट आन्दोलनका क्रममा हिंसा भड्किदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशमलाई जन्मकैदको फैसला भएको थियो ।