ओलीले १ महिना अघिको मिति राखेर नेपाल र रावललाई गरे कारवाही
नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलमाथि एक महिना अघिको मिति राखेर कारवाही गरेको पाइएको छ ।
माधवकुमार नेपाल र भीम रावललाई एकमहिना अघि अर्थात फागुन १६ गतेको मिति राखेर निलम्बन गरिएको छ ।
पार्टी विरोधी गतिविधि गरेको, समानान्तर अभ्यास चलाएको, सरकार विरुद्ध षडयन्त्र गरेको र प्रचण्डको मतियार बनेको भन्दै एमालेको संस्थापन पक्षले चैत ८ गते वरिष्ठ नेता नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई स्पष्टिकरण सोधेको थियो ।
तर कारवाही भने एक महिना अघिको मितिमा गरिएको छ । कारवाही अनुसार नेपाल र रावल पार्टी सदस्यबाट निलम्बनमा परेका छन् ।
पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।
नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनिएको छ ।
अध्यक्ष ओलीले गरेको कारवाहीलाई वरिष्ठ नेता नेपालले अस्वीकार गरेका छन् । नेता नेपालले ओली अध्यक्ष नै नभएको र कारवाही वैधानिक नभएको दावी गरे।
अध्यक्ष ओलीको अवैधानिक कदमको प्रतिकार गर्न देशभरिका कार्यकर्तालाई नेपालले अपील गरेका छन् ।
यसैगरी, नेता भीम रावलले आफू र माधव नेपालमाथिको कारवाहीलाई निरंकुश र स्वेच्छाचारी कुकृत्यको संज्ञा दिएका छन् ।
रावलले सोमबार साँझ वक्तव्य जारी गर्दै देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको दावेदारी भन्दै ओली अवैधानिक अध्यक्ष रहेको दावी गरेका छन् ।
कारवाही निलम्बन