अध्यक्ष ओलीद्वारा गरिएको कारवाही विरुद्ध नेपाल पक्षले आन्दोलन गर्ने
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र तथा उपाध्यक्ष भिम रावल पक्षले अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको कारवाही विरुद्ध आन्दोलन गर्ने भएको छ । नेपाल पक्षिय एक युवा नेताले नेपाल आजसँग भने–‘ओलीको तानाशाही कदम प्रति सम्पूर्ण नेता/कार्यकर्ता देशव्यापी रूपमा आन्दोलनमा होमिनु पर्छ।’ तर आन्दोलन कसरी गर्ने र कहिले देखि गर्ने भन्ने विषय एकिन भईनसकेको उनले वताए ।
‘अहिलेको निकास प्रधानमन्त्री ओलीले राजीनामा गरेको अवस्थामा कमरेड माधव कुमार नेपालको नेतृत्वमा सरकार बनाएर वाम एकता कायम गरी एमाले पार्टीलाई पनि एकताबद्ध बनाउने हो’ ति नेताले भनेका छन्–‘ओली गुटले माधव नेपाल पक्षलाई अवैधानिक तवरले पदबाट हटाएका छन् त्यो फिर्ता लिई ०७५ जेठ २ को अवस्थामा फर्काएर पार्टीको विधिका आधारमा अघि बढ़ाई एमालेलाई कमिटी प्रणाली अनुसार बढ़ाए मात्रै एमाले सग्लो रहन्छ। होइन भने ओलीको तानाशाही प्रवृत्ति सहेर एमाले पार्टीलाई एकीकृत रुपमा अघाढी बढाउन सकिदैन।’
ओलीले विधान विपरीत एक पक्षीय, अलोकतान्त्रिक निर्णय गरेर आफ्नो खुट्टामा आफैं बन्चरो हानेको उनले वताएका छन् । यता, नेता नेपालले अध्यक्ष ओलीले गरेको कारवाही अस्विकार गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा आफनो धारणा सार्वजनिक गरेका नेपालले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न अपिल गरेका छन् ।
‘सञ्चार माध्यममा आए अनुसार आज म र कमरेड भीम रावललाई निलम्वन गरिएको भन्ने कुरालाई म अस्विकार गर्दछु । विधान विपरित एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गतेका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटिको अध्यक्षलाई कार्वाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, बिधि, नैतिकता, मुल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कतिपनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु’ उनले लेखेका छन्–‘टुक्रा टुक्रामा विभाजित कम्युनिष्ट आन्दोलनलाई एकिकृत, विस्तार र विकास गरेको हामीले हो, यसको रक्षा पनि हामीले नै गर्ने हो, मैदान छोडेर भागिने छैन, नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो, नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो, अतः निराश होइन दृढ बनेर कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ।’