नेपाली सेनालाई भारतीय सेनाको उपहार– कोरोना विरुद्धको १ लाख डोज खोप
भारतीय सेनाले नेपाली सेनालाई कोरोना विरुद्धको १ लाख डोज उपहार स्वरुप प्रदान गरेको छ ।
टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा मंगलवार आयोजित एक समारोहकाबीच नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले उक्त खोप नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे।
भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले खोप हस्तान्तरण समारोहमा भिडियो कन्फ्रेन्स मार्फत सहभागिता जनाए। उनले दुई देशका सेनाबीच भातृत्वको साइनो रहेको बताए। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो खोप उपहारका लागि भारतीय सेना र भारत सरकारलाई धन्यवाद दिए ।
भारतमा उत्पादित उक्त खोप एयर इण्डियाको विमान मार्फत चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो। कोभिड–१९ महामारी विरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरे मेसिन, रेडियोग्राफी उपकरण, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनीट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्स लगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।
भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा दुई देश र दुई देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको भारतीय दुतावासले जनाएको छ ।