News राजनीति

ओलीको तर्क– अदालतको फैसलामा कहाँनेर लेखिएको छ केपी ओलीले असंवैधानिक काम गर्यो भनेर ?

ओलीको तर्क– अदालतको फैसलामा कहाँनेर लेखिएको छ केपी ओलीले असंवैधानिक काम गर्यो भनेर ?

फेरि एकचोटि प्रधानमन्त्री केपी ओलीले फागुन २८ गतेदेखि बर्खास्त एमाले उपाध्यक्ष वामदेव गौतमलाई बैठकभित्रै झम्टिनुभयो । र, उल्टै उहाँका ‘साइबर सेना’ ले अर्कैैखाले हल्ला चलाएर वामदेव ओलीतिर लागेको प्रचार गर्दा एकजना सुझबुझयुक्त सांसद ढडियामा फसे । अरु कारण हैन, वामदेवले ओलीलाई समर्थन गरिसक्नुभयो र बैठकमा जानुभयो भन्ने पारेर चितवनबाट वकिल पृष्ठभूमिका सांसद कृष्णभक्त पोखरेललाई ७ गते संसदीय दलको बैठकमा पु¥याई माफीसमेत मगाइयो । ११ बजेसम्म सिंहदरबारमा माधव खेमाका सांसदहरुबीच आगामी रणनीतिबारे छलफल गर्दै रहेका पोखरेल एकै छिनमा गायब भएका थिए । कृष्णभक्त उनै व्यक्ति हुन्, जसलाई कुनै दिन केपी ओलीले सक्ने भए चिथोरेरै भए पनि सिध्याउन चाहनुहुन्थ्यो ।

त्यसदिनको बैठकमा पुग्नुभएका वामदेवले केपी ओलीले समानुपातिक सांसदलाई समेत कारवाही गर्ने अधिकार लिएकोबारे टिप्पणी गर्नुभयो, ‘प्रतिनिधिसभा सदस्य मरेमा या राजीनामा दिएमा पद खाली हुने, समानुपातिकलाई चाहिँ जुनसुकै बेला हटाउन पाइने ? एउटै संसदभित्रका समानुपातिकचाहिँ सौताका सन्तान हुन् ? उनीहरुलाई प्रत्यक्षबाट आएका सांसदलाई जस्तो बजेट पनि छैन, कार्वाही पनि यिनैलाई गर्ने ?’ अनि, उहाँले प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने कुरा अदालतले नै पुष्टि गरिरहँदा अलिकति पनि नैतिकताको ख्याल नगरी किन पदमा बसिरहनुभएको छ ?’ भनेर प्रश्न गर्दागर्दै प्रधानमन्त्रीले शब्दबाण प्रयोग गरेर झम्टिनुभयो । र, सर्वोच्चको फैसलासमेत आफू अनुकूलको भनी व्याख्या गर्नुभयो ।


बालुवाटारको बैठक बस्ने हलमा कसले बोल्यो, के बोल्यो भनेर बकाइदा भिडियो खिच्ने स्पाई क्यामरा फिट गरिएको र आवश्यकताअनुसार फोटो र भिडियो बाहिर ल्याउने संयन्त्र छ । बैठकमा हस्याङ्फस्याङ गर्दै कृष्णभक्त पुग्नासाथ उनलाई त्यही जासुसी क्यामेराको सहारामा भाइरल बनाइयो । कोमल ओलीको पछिल्तिर बसेर माइक्रोफोन समात्दै उनले गल्ती भयो, माफ पाऊँ भनेको अरु कसैले खिचेकै थिएन । तर त्यही भिडियो एकै छिनमा छताछुल्ल भयो । अरु सांसदलाई तर्साउन अब अरु के चाहियो ?

त्यसअघि बैठकमा वामदेवले अदालतको फैसलापछि राजीनामा दिनुपथ्र्यो भनेर दिएको सुझावलार्ई जवाफ फर्काउँदै प्रधानमन्त्रीले ‘मैले गरेको संसद विघटनको सिफारिश संविधानसम्मत थियो, कसले भन्छ असंवैधानिक थियो भनेर ? संविधानसम्मत गरेको छु, विधिसम्मत छ । अदालतको फैसलामा कहाँनेर लेखिएको छ केपी ओलीले असंवैधानिक काम ग¥यो भनेर ?’ भनिदिनुभयो ।

अदालतले तिम्रो काम असंवैधानिक हो भनिसकेपछिको अवस्थामा समेत प्रधानमन्त्रीको जिकिर थियो ‘फैसलामा केपी ओलीले असंवैधानिक काम गरेको हो भनेर ब्ल्याक एण्ड ह्वाइटमा लेखेको छ ?’ उहाँको अचम्मको तर्क थियो ‘त्यस्तो अवस्थामा सर्वोच्चले मलाई भन्नुपर्यो नि राजीनामा दे भनेर । फैसलामा नामै किटेर राजीनामाबारे केही बोलेको छ ?’

कृष्णभक्तका कुरा
खासमा कृष्णभक्त पोखरेललाई लखेट्न पाए चितवनमा आफ्नो पकड बलियो हुने हिसाब थियो, केपी ओली समूहको । एमालेको माधवपक्षीय राष्ट्रिय कार्यकर्ता भेला चलिरहँदा ओली पक्षले बोलाएको संसदीय दलको बैठकमा ‘नजाने–नजाने’ भन्दै सबभन्दा बढी कराउने कृष्णभक्त ७ गते हस्याङ्फस्याङ गर्दै पुग्नुको कारण त खुलिहाल्यो । माधवपक्षको भेला चलिरहँदा ५ गते बिहान ११ बजे जाने र नजाने भन्नेमा विवाद भयो । माधवले जानु भनेर गएकालाई भीम रावलले बाटैबाट फर्काइदिनुभयो । त्यसैले गंगा चौधरीहरु जाने र नजानेको अन्यौलमा परेर बालुवाटार पुगे ।

बजारमा हल्ला गरिँदैछ कि ‘कृष्णभक्तको क्षेत्रबाट बादललाई चुनावमा उठाइने त्रास र विधायन समिति सभापतिबाट खुस्काइने डरका कारण उनी हत्तपत्त गए ।’ तर, बादललाई साँच्चै उठाउने हो भने कृष्णभक्त त्यता गए पनि केपीले उठाएरै छाड्नुहुन्छ । जब एमालेको नवौँ महाधिवेशनपछि चितवनमा जिल्ला कमिटीको चुनाव भयो, त्यहींदेखि हो, कृष्णभक्त केपीको तारो बनेको । त्यहाँको जिल्ला कमिटीमा अध्यक्ष कृष्णभक्तसहित माधवको समूहले सर्लक्कै जितेको थियो । जिल्ला कमिटीमा माधवका ८५ र केपीका ५ जना आए । तर, जितेकै दिनदेखि कृष्णभक्तलाई राजीनामा गराउन बालुवाटारदेखिका बल प्रयोग भए, तर कृष्णभक्त टसमस भएनन् । उनलाई जिल्लाको अध्यक्षबाट हटाउन, कारवाही गर्न र काम गर्न नदिनका लागि ओली समूहले कुनै कसर बाँकी राखेन ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।

विशेष