News

भारतीय सहयोगमा निर्मित हुलाकी सडकका १३ वटा प्याकेज नेपाललाई हस्तान्तरण

भारतीय सहयोगमा निर्मित हुलाकी सडकका १३ वटा प्याकेज नेपाललाई हस्तान्तरण

भारतीय आर्थिक सहयोगमा नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका विभिन्न सडकहरु वुधवार नेपाललाई हस्तान्तर गरिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ मार्फत सडकहरु हस्तान्तरण गरेका हुन् । 

तराई क्षेत्रका सडक पूर्वाधार स्तरोन्नती गर्न भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको थियो । जुन भारत सरकारको नेरु. ८०० करोड आर्थिक सहयोगमा निर्माण भएका छन् । यी सडकहरुलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व—पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत—नेपाल सीमासँग पनि जोड्दछन् ।

नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पु¥याएको छ । 

नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ । 

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो ।

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज नेपाललाई हस्तान्तरण गरिएको भारतीय दुतावासले जनाएको छ ।

विशेष