News

सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकियो, वादल र प्रकाण्डवीच छलफल

सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकियो, वादल र प्रकाण्डवीच छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको पहिलो चरण (वुधवार) को वार्ता सकारात्मक भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए ।

सरकारी पक्षका वार्ता टोली सदस्य राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन् । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए।

आजको वार्तामा आगामी वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताईएको छ । नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता÷कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताइए।

चन्द निकट एक नेताका अनुसार बुधबारको वार्तामा सरकारको प्रस्ताव वैधानिक तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्ने रहेको थियो । वैधानिकभन्दा पुरानै संसद, यो संविधानलाई मान्नु पर्ने हुन्छ । त्यही भएर वैधानिक शब्द हटाएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने भन्नेमा सहमति भएको चन्द निकट एक नेताले जानकारी दिए । यद्यपि यो सहमतिबारेको जानकारी औपचारिक रुपमा बाहिर आएको छैन । आगामी वार्ता बिहीबार हुने पनि ती नेताले बताए ।
 

विशेष