News

धरानमा ऐलानी खुलेको हल्ला चलाए सर्दु खोलाभित्रै रातारात वनाईयो टहरा

धरानमा ऐलानी खुलेको हल्ला चलाए सर्दु खोलाभित्रै रातारात वनाईयो टहरा

धरानमा ऐलानी खुलेको हल्ला चलाइएपछि धरान–१७ नमुना सुन्दर बस्तीको पश्चिमी क्षेत्र सर्दु खोलाभित्रै सुकुम्बासीको नाममा अनाधिकृत टहरा बनाएको पाइएको छ । 

टहरा बनाएको सूचना पाएपछि धरान उपमहानगरपालिकाका नगर प्रहरीले त्यहाँ निर्मित करिव २५ वटा टहरा भत्काएको छ । रातारात अतिक्रमण गरी बनाइएको टहरा भत्काएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार चारवटा टिन लगाएका र करिब २० वटा बाँसले बारेका अस्थायी रूपमा टहरा बनाइएको अवस्थामा भेटिएको थियो । 

करिब सयवटा जति घडेरी बनाइए पनि अन्य चाहिँ ढुङ्गाले बारेको अवस्थामा भेटिएको छ । 

धरान–१७ को अधिकांश खोला क्षेत्रमा अतिक्रमण गरी बाँसको अस्थायी टहरा बनाउने कार्य जारी रहेको सूचना आएकाले दैनिक अनुगमन गरिने उनले बताए । चतरा जाने पुल क्षेत्रमा पनि अतिक्रमण गरिएको छ भन्ने सूचना आएको छ उनले वताए ।

सरकारले सुकुम्बासी आयोग बनाएर अहिले पुराना तथा हालसम्म ऐलानी क्षेत्रमा बस्दै आएकाहरूको लगत सङ्कलन गरी पुर्जा वितरण गर्ने तयारी थालेको छ । यही बेलामा धरानमा भने सुकुम्बासीलाई जग्गा वितरण हुँदै छ भन्ने नाममा जग्गा रातारात अतिक्रमण बढेको छ । जहाँ धरानका टेम्पो व्यवसायीलगायतले जग्गा अतिक्रमण गरी टहरा बनाएको खुलेको छ । 

विशेष