News

बुटवलको नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि सम्झौता

बुटवलको नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि सम्झौता

रुपन्देही जिल्ला बुटवल–११ नहरपुर स्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाडौं स्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बुटवल उप–महानगरपालिकाबीच आज सम्झौता भएको हो । भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अनुरुप ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ अन्तर्गत नेरु ४ करोड ४१ लाख ७० हजारको लागतमा उक्त नयाँ भवन निर्माण हुन लागेको हो ।

सन् १९७१ मा स्थापना भएको प्लस–टु तहको शिक्षा तथा व्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गर्दै आएको छ । हाल विद्यालयमा अध्ययन गरिरहेका कूल १ हजार १२७ विद्यार्थी मध्ये ५० प्रतिशत छात्रा छन् । 

सन् २००३ यता भारतले स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र सार्वजनिक उपयोगिताका क्षेत्रमा सबिकको ‘साना विकास परियोजना’ र अहिलेको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम’ अन्तर्गत नेपालको सातैवटा प्रदेशमा ४४६ वटा परियोजना सम्पन्न गरिसकेको छ ।

ती मध्ये रुपन्देही जिल्लामा मात्रै १० गरी प्रदेश–५ मा ४१ वटा रहेका छन् भने सोही प्रदेशमा अन्य ९ वटा परियोजनाहरु विभिन्न चरणमा रहेका छन् ।

भारतले नेरु ५८०० मिलियन पुनर्निर्माण अनुदानमा २०७२ सालको विनाशकारी भुकम्पले क्षती पुर्याएका आठ जिल्लाका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । यस पुनर्निर्माण कार्यक्रम अन्तर्गत आठ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालयको काम अघि बढिरहेको छ ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय परियोजनाका लागि पनि टेण्डर प्रक्रिया अघि बढिरहेको भारतीय दुतावासले जनाएको छ ।

विशेष