सरकार र विप्लवको वर्ता टोलीकाबीच तीन बुँदे सहमति
वार्तामा रहेका सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ।
बिहीबारको वर्तामा सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच तीन बुँदै सहमति भएको हो।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ। तीन वुँदे सहमतिको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
सहमतिको विस्तृत विवरण शुक्रबार २ बजे एक विशेष समारोह गरेर सार्बजनिक गरिने बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्वोधन गर्ने बताइएको छ ।
यसअघि बुधबार सरकार र विप्लव समूहबीच दुई चरणमा वार्ता भएको थियो । मंगलबार सरकार र विप्लव समुहले वार्ता गर्न आआफ्नो पक्षबाट वार्ता टोली गठन गरेको सार्बजनिक गरेका थिए ।
वार्ता टोलीमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेका छन् भने विप्लव समुहको तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने ’दीपक’ रहेका थिए ।