अहिले निकै जटिल परिस्थिति रहेकाले तत्काल म प्रधानमन्त्रीको उम्मेद्वार होईनः प्रचण्ड
प्रचण्ड–माधव समुहको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले निकै जटिल परिस्थिति रहेकाले आफू तत्काल प्रधानमन्त्रीको उम्मेद्वार नभएको वताएका छन् ।
शुक्रबार सिंहदरबारमका भएको संसदीय दलको बैठकपछि नेता चुनिएका नेता प्रचण्डले सबैसँग सल्लाह गरेर अगाडि जाने बताए। अरु दलहरुसँग छलफल गरेपछि मात्रै आफूहरु निर्णयमा पुग्ने उनले बताए। ‘अहिले हामी छलफलमै छौँ । संसद् विघटन गर्ने कदमलाई अलोकतान्त्रिक, स्वेच्छाचारी भनेर सडकमा गएका दलहरुसँग मुद्दाका हिसाबले हाम्रो सहकार्य हुन्छ । आन्दोलनमा सहकार्य भयो । छलफलमा छौँ’ उनले भने–‘एक–दुई दिनमा टुंगो लाग्छ।’
आउने दिन सहज बनाउने भए केपी ओलीले संसद् पुनःस्थापना भइसकेपछि राजीनामा दिनुपर्ने थियो भन्दै उनले त्यतिमात्रै नभएर ११५ जनाको हस्ताक्षरसहितको बहुमतले दलको नेता मलाई निर्वाचित गरिसकेपछि अविलम्ब राजीनामा दिनु उनको र देशको लागि सहज हुने वताए । ‘अन्यथा प्रक्रियामार्फत अघि बढ्छौँ,’ दाहालले भने, ‘अविश्वास प्रस्ताव ल्याउन ओलीले नै बाध्य पारेका हुन्।’
नेता प्रचण्डले आफूहरू विधानअनुसार वैज्ञानिक तरिकाले अगाडि बढेको वताए । उनले भने,‘हामी संविधान र प्रक्रिया अनुसारनै जान्छौं। पर्यो भने अविश्वासको प्रस्ताव पनि लैजान्छौं।’
उनले आफू संसदीय दलको नेता बन्नुलाई अवसर र चुनौतीको रूपमा लिएको उल्लेख गरे। ओली गुट र ‘भ्रम’मा रहेका नेता–कार्यकर्तालाई आधिकारिक पार्टी आफ्नै भएकाले यतै आउन पनि प्रचण्डले आग्रहसमेत गरे।
आजै बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि पुस ८ मा पनि उनलाई संसदीय दलको नेतामा चयन गरिएको थियो। तर निर्वाचन आयोगले पुस ५ गतेपछिका नेकपाको दुवै पक्षले गरेको निर्णय अस्वीकार गरिदिएको थियो।
प्रचण्ड अविश्वासको प्रस्ताव प्रधानमन्त्रीको उम्मेद्वार