News

स्थानीयको विरोधका विच मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास

स्थानीयको विरोधका विच मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास

रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरिएको छ । स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

शिलान्यसका लागि तयार गरिएको मञ्च विहीबार स्थानीयवासीले भत्काएका थिए । सुरक्षाकर्मीसमेतको सहयोगमा रातारात मञ्च निर्माण गरिएको थियो । आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तिनाउ नदी किनारको ८ सय १३ बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने तयारी छ ।

आफुहरुले भत्काएको मञ्च फेरी तयार भएपछि शुक्रबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आएपछि प्रदर्शनकारीलाई प्रहरीले लखेटेको थियो । सो क्रममा अर्थमन्त्री पौडेलको गाडीलाई लक्षित गरी ढुंगा प्रहारसमेत भएको थियो ।

प्रदर्शनकारीहरुले हातमा कालो झण्डा र प्लेकार्ड लिएर किसान मार्न पाइँदैन, भोगका आधारमा लालपूर्जा वितरण गरलगायतका नारा लगाएका छन्।

औद्योगिक क्षेत्रले बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकाका विभिन्न भाग समेट्नेछ । तर मोतिपुर क्षेत्रमा भने मुआव्जा र विस्थापितको बसोबासलाई लिएर सहमति हुन सकेको छैन । सहमति नगरी शिलान्यास गर्न लागिएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

प्रदर्शन ढुंगा प्रहार कालो झण्डा औद्योगिक क्षेत्र शिलान्यास

विशेष