ओलीले प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारको रुपमा किन सारे नेम्वाङ्गको नाम ?
प्रधानमन्त्री केपी शर्मा ओली सबैतिर अल्पमतमा परेको स्पष्ट हुँदै गएपछि बालुवाटार निकट भनिएका केही नेताले आइतवार अगावै राजीनामा दिन सुझाएको खबर बाहिरिएको छ । उनीहरुले ‘बहुमत पक्षले यसैपनि हटाउने चित्र स्पष्ट हुँदै गएकाले,’ भन्दै, ‘त्यसो गर्दा पार्टी एकताको झिनो सम्भावना रहने’ उनीहरुको आशा देखिन्छ ।
तर, हठी स्वभावका प्रधानमन्त्री ओली र किचेन क्याबिनेटका सदस्य तथा केही सल्लाहकारले ‘राजीनामा दिनु बाख्राको पुच्छर काटेर बोकालाई सजिलो बनाएझैं हुने’ प्रतिक्रिया दिएपछि ओली निकट कतिपय आशावादी कमरेडले हिजो साँझदेखि लामो सुस्केरा हालेका छन् ।
उता,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार सिंहदरबारमा भएको स्थायी समिति सदस्य घनश्याम भुसालसँगको जम्काभेटमा पार्टी एकता जोगाउने नाममा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारको रुपमा सुवास नेम्वाङ्गलाई अघि सारेका थिए । त्यो प्रस्तावलाई नेकपाको बहुमत पक्षले घुमिफिरी आफ्नै हातमा सत्ताको साँचो राख्ने एजेण्डाको रूपमा लिएको छ । नेकपा बहुमतका एकजना नेताले उक्त प्रस्तावबारे भने ‘अहिले इलेभेन्थ आवरमा आएर त्यो प्रस्ताव सुन्न पनि सकिँदैन । दुई वर्षदेखि हाम्रा सुझावलाई लत्याउँदै पार्टी तहसनहस पारेकाहरुलाई कुनैपनि विकल्पको अवसर छैन । झन् त्यसमा नेम्वाङ्ग त हुनै सक्दैनन् । किनभने ओलीले खेलेका सबै फोहोरी खेलका मास्टरमाइण्ड उनै हुन् ।’
केहीले चाँहि प्रधानमन्त्रीले राजीनामा दिने सम्भावना अत्यन्त झिनो भएपनि ‘अविश्वसनीय’ मान्छे भएकाले दिनुहुन्न भनेर पनि भन्न नसकिने बताएका छन् । बालुवाटार निकट भनेर चिनिएका राष्ट्रिय सभाका एकजना माननीयले आइतबार वा सोमबार संसदमा बोल्ने क्रममा एकैचोटी राजीनामा दिएर अघिल्लो पटक झैं बाहिरिने सम्भावना छ है ! भनेका छन् । उनी भन्छन् ‘जताततै हारेको र स्पष्ट अल्पमतमा भएको मान्छेले एक साता अघिदेखि संसद फेस गर्छु भन्नुका पछाडि अरुलाई गुमराहमा राखेर एकैचोटी राजीनामा दिने उद्देश्य हुनसक्छ ।’
हुन पनि फागुन ११ गते विविध कार्यक्रमका साथ ७० औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्रीले सर्वोच्चको फैसला त्यहि दिन र आफ्नो विपक्षमा आउने कल्पनासमेत गरेका थिएनन्। पूर्ण विश्वासमा रहेका प्रधानमन्त्रीलाई अदालतबाट हराइएको,निर्वाचन आयोगबाट पनि आधिकारिकता आफूलाई प्राप्त नहुने सम्भावना बढ्दै गएको र हिजो बसेको नेकपा (बहुमत) संसदीय दलको बैठकमा नसोचेको उपस्थिति देखिएपछि प्रधानमन्त्री र किचेन क्याबिनेट सदस्यहरु हतास मनस्थितिमा पुगेको बताइन्छ ।
त्यसैले बालुवाटारले बोलाएको संसदीय दलको बैठक एकाएक संसदको ल्होत्से हलबाट आज बालुवाटार नै सारिएको छ । बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकवारे नेकपा (बहुमत) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एकातर्फ बहुमत भइसकेकाले अन्यत्र चिया खान बसेका केही सांसदको उपस्थितिलाई संसदीय दलको बैठक मान्न नमिल्ने प्रतिक्रिया दिएका छन् । उनले भने–‘त्यसबारे सम्भवतः आजै हामी औपचारिक रुपमा विज्ञप्ति जारी गर्नेछौं ।’
यो सामग्री जनआस्थावाट साभार गरिएको हो।