उर्लाबारी हत्या घटनाः दोषीलाई उन्मुक्ति दिने प्रहरी अधिकारीलाई निर्दोश वनाउने षडयन्त्र
मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविण बास्तोलाको हत्यामा घटनाको सत्यतथ्य लुकाएर दोषीलाई उन्मुक्ति दिने षड्यन्त्र गर्ने प्रहरी अधिकारीलाई उन्मुक्ति दिने प्रयास सुरु भएको छ ।
घटना अनुसन्धानमा लापार्वाही गरेको भन्दै मृतकका परिवार विरोधमा उत्रिएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको थियो । राईले सोमबार बुझाएको प्रतिवेदनमा मिसिलमा फोटो परिवर्तन भएको पुष्टि भएपनि त्यसलाई मानविय त्रुटि भन्दै समस्यालाई समान्य वनाउन खोजिएको पाईएको छ ।
मिसिलमा राखिएको फोटोमध्ये एउटा फोटो अर्कै घटनाका व्यक्तिको भएको र त्यसलाई मानवीय त्रुटिको रुपमा प्रतिवेदनमा औंल्याएको छ । सो घटनाको अनुसन्धानमा कुनै किसिमको लापरबाही नभएको प्रतिवेदनमा उल्लेख भएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भने हालसम्म सो प्रतिवेदन सार्वजनिक गरेको छैन ।
पीडित परिवारले प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । प्रहरीले हालसम्म प्रतिवेदन सार्वजनिक नगरेको र अहिले प्रतिवेदनमा उल्लेख भएका कुरा बाहिर आएको प्रति मृततकी बहिनी सदीक्षाले असन्तुष्टी जनाएकी छन् । फोटो मात्रै परिवर्तन नभई घटनाको छानबिनमा गम्भीर लापरवाही भएको उनको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले आइतबार प्रतिवेदन सार्वजनिक गर्ने बताउँदै प्रतिवेदनमा औंल्याएका कमी कमजोरीका आधारमा दोषीमाथि कारबाही गरिने वताए । तर, प्रहरी अधिकृतलाई नै कारबाही हुनुपर्ने पीडित पक्षको अडान उचित नहुन पनि सक्ने खड्काको भनाई छ। उनको यो भनाईले अनुसन्धाना फितलो वनाउन महत्वपुर्ण भुमिका गरेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख इन्स्पेक्टर उद्धव पोखरेललाई उन्मुक्ति दिन प्रयास गरिएको आशंका गरिएको छ । पीडित परिवारले पोखरेललाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गर्दै आएका छन् ।
यसैविच बास्तोलाको हत्या घटनामा फरार दुई प्रतिवादी पक्राउ परेका छन् । उर्लाबारी–६ का राजेश रणपहेली र दीपेश पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रणपहेलीलाई शुक्रबार साँझ बुटबलबाट र पौडेललाई लागू औषध सहित झापाको दकमबाट प्रहरीले पक्राउ गरेको हो । सो घटनाका ६ प्रतिवादी मध्ये प्रहरीले ४ जनालाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइसकेको छ ।
उर्लाबारी–६ का मेहरमान दर्जी, १९ वर्षीय सुदिप परियार, रमेश गिरी र कुमार मध्ये दर्जी र परियारलाई जिल्ला अदालत मोरङको आदेशमा पुर्पक्षका लागि मोरङ कारागार पठाईसकेको छ । कुमार राई तीन लाख रुपैयाँ र गिरी एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भईसकेका छन् ।
हत्यामा घटना अनुसन्धानमा लापार्वाही मानवीय त्रुटि