एसिड प्रहार गर्नेलाई सार्वजनिक स्थानमा झुण्ड्याउनु पर्छ : मुख्यमन्त्री राउत
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहार गर्नेहरु मानवता विरोधी भएको बताउँदै त्यस्तालाई संविधान संशोधन गरेर भएपनि सार्वजनिक स्थानमा झुण्ड्याउनु पर्ने वताएका छन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सोमवार जनकपुरमा आयोजना गरिएको साईकल विरतण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो वताएका हुन् ।
राउतले छोरी चेलीको विकास र अधिकारका लागि सरकार प्रतिवद्ध रहेका बताए । महिलाहरुलाई अहिले प्रदेश सरकारले दिएको आरक्षणको लाभ २० वर्ष पछि देखिने उनको भनाई थियो । मधेशमा छोरी जन्मिदै हुने विभेदलाई हटाउन प्रदेश सरकारले ‘बेटी बचाउ बेटी पढाउन अभियान’ र ‘छोरी बिमा कार्यक्रम’ ल्याएको उनले बताए ।
यसैविच एसिड प्रहारवाट पीडित आरती साहलाई प्रदेश सरकारले सम्मान गरेको छ। मुख्यमन्त्री राउतले दोसल्ला ओढाएर उनलाई सम्मान गरेका छन्।
माईतमा वसेकी आरतीमाथि उनकै श्रीमानले लक्ष्मी पूजाको दिन एसिड प्रहार गरेका थिए। जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमै गएर श्रीमानले एसिड प्रहार गरेका थिए।
प्रहरीले एसिड प्रहार गर्ने आरतीका श्रीमान् र एसिड व्यापारीलाई पक्राउ गरेको छ। हाल सो मुद्दा जिल्ला अदालत धनुषामा चलिरहेको छ।