प्रचण्ड–माधव स्थायी समिति बैठक: एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय
प्रचण्ड–माधव समुहको सोमवार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको छ।
दाहाल–नेपाल समूहका नेताहरूले सोमवारको बैठकलाई विदाई बैठक समेत भनेका छन् । बैठकमा बोल्ने सदस्यहरुले आ–आफना पार्टीमा गएर पुनः एकताका लागि पहल गर्नुपर्ने सुझाव समेत दिएका थिए ।
माधवकुमार नेपाल पक्षको बैठकले नेकपा एमालेमा फर्कने निर्णय गरेको थियो । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले एमाले पार्टीमै फर्कने र अध्यक्ष केपी ओली प्रवृत्ति विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको हो । छलफलमा १३ जना स्थायी समिति सदस्य सहभागी थिए ।
यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ। त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ।