औपचारिक कार्यदल बनाएरै सत्ता समिकरणका लागि छलफल गर्छौः महतो
जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सत्ता समिकरणका लागि छलफल गर्ने वताएका छन् ।
पार्टीको संसदीय दलको बैठक सकिएपछि नेता महतोले सत्ता सहकार्यका लागि सबै पक्षसँग छलफल गर्ने वताए । ‘हामी सत्ता समीकरणका लागि खुला छौं । तीनवटै दलसँग सरकार निर्माणका विषयमा कुरा गर्छौं’ उनले भने–‘यसका लागि दलले वार्ता टोली बनाउँछ।’
नेकपा एमालेसँग सत्ताका विषयमा वार्ता भएको विषयमा उनले वोलेनन् तर, आफ्नो दलका सांसद रेशम चौधरीको रिहाई लगायतका विषयमा अपर्झट कुरा भएको वताए ।
‘हामी अब उधारोमा कसैसँग पनि सहकार्य गर्दैनौं । विगतका अनुभवमा आधारित रहेर अघि बढ्छौं’ उनले भने–‘पार्टीका तर्फबाट औपचारिक कार्यदल बनाएरै सबै पक्षसँग छलफल गर्छौं।’
उनले पार्टीको संसदीय दलको नेता चयनका लागि विधान संशोधन गरिने पनि बताए । संसदीय दलको बैठकमा समसायिक विषयको समीक्षा भएको उनले बताए ।