News अपराध सुरक्षा

कोमल वलीद्वारा नेता रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा

कोमल वलीद्वारा नेता रघुजी पन्त विरुद्ध मानहानीको मुद्दा

राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध अदालतमा मानहानी मुद्दा दायर गरेकी छिन् ।

काठमाडौं जिल्ला अदालतमा मंगलबार बिहान गाली बेइज्जतीसम्बन्धी कसुरमा पन्तविरुद्ध मुद्दा दायर भएको हो । वलीले मुलुकी फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।

वलीले फिरादपत्रमा मुलुकी अपराध सहिंता २०७४ को दफा ३०५(१), (२)(क) बमोजिम कसुर गरेको दाबी गर्दै पन्तलाई दफा ३०७(१) बमोजिम सजाय हुनुपर्ने मागसमेत गरेकी छिन् । मुलुकी अपराध संहिताको दफा ३०७(१) मा ‘कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई २ वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ कानुनी प्रावधान छ ।

तर वलीले भने नेता पन्तले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेकाले कानुनी प्रावधानअनुसार थप एक वर्षसम्म कैद र दस हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेकी छिन् ।

१५ फागुनमा सामाखुसीमा आयोजित एक कार्यक्रममा नेता पन्तले वलीबारे विवादित टिप्पणी गरेका थिए । ‘हाम्रो पार्टीमा २०औं वर्ष देखि विवाह नगरी महिलाहरु लागेका छन् । केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद् त तिनै भइन्’ उनले भनेका थिए–‘कपाल फुलेर चाउरी परेका बुढी कामरेडहरु न एक पटक राष्ट्रिय सभाको सदस्य पनि हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि हुन पाइन्, केन्द्रीय कमिटीको सदस्य पनि हुन पाइन् ।’

पन्तले वली कुनै योगदानबिना नै राष्ट्रिय सभा सदस्य र केन्द्रिय कमिटी सदस्य भएको भन्दै आलोचना गरेका थिए । 

विशेष