News

काभ्रेमा लालपूर्जा वितरण अन्योल

काभ्रेमा लालपूर्जा वितरण अन्योल

काभ्रेपलाञ्चोक

एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्यालयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ ।

एक वर्षअघि उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा जिल्ला नापी कार्यालयका दुई टोली स्थानीयको जग्गाधनी र जग्गाको छानविन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न राखिएको थियो । तर ती टोली मालपोत कार्यालयको असहयोग तथा अन्य विविध कारण देखाउँदै हालै जिल्ला फर्किएपछि लालपूर्जा वितरणमा अन्योलता छाएको हो । ४५ वर्षदेखि लालपूर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका एक हजार दुई सयभन्दा बढी स्थानीयमा जग्गाको समस्या भएपछि तत्कालीन मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वडामा दुई टोली खटाउन नापी कार्यालय र मालपोतलाई निर्देशन दिनुभएको थियो । गाउँपालिकाका सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जा विहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा गत माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थए ।

भुम्लु गाउँपालिकाले भने केही दिनअघि मात्रै तत्काल काम पुनःसचालन गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेको छ । “निवेदनउपर छानविन गरी जग्गदाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिसकेको अवस्थामा कर्मचारीले फिल्ड छाडेर हिडेपछि हिड्नुको कारणसहित दुवै कार्यालायलाई पत्राचार गरेको हो”, गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो । कुँवरसहितको पीडित टोलीले काम सुचारु गर्न आग्रहसहित दुवै कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानले कर्मचारी फर्काउने प्रक्रिया भइरहेको बताउनुभयो । उहाँका अनुसार करिब ३०० को लालपूर्जा तयार भैसकेको छ ।

साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफुले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् । नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्यौलता छाएपछि निवेदन दर्ता गर्न बाध्य भएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताउनुभयो । “कार्यालयमा कर्मचारी पनि नियमित उपस्थित नहुने र विभिन्न बहाना देखाएर प्रक्रिया बीचमै छाडेर हिड्ने भएपछि अन्योलता छाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिडेका हुन् । नापी कार्यालयका अनुसार हालसम्म ७ नम्वर वडास्थित कार्यालयमा ९३२ र ८ नम्वरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि नबढेको उहाँले बताउनुभयो । “मालपोत कार्यालयबाट जमीनको शुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिन्छ”, कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले भन्नुभयो । उहाँका अनुसार हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गा दर्ता गर्न सकिनेछ । नापी कार्यालयले मालपोत कार्यालयको असहयोगका कारण थप प्रक्रिया अघि बढाउन नसकिएको आरोप लगाएको छ । न्यौपानेले भन्नुभयो, “मालपोतले जग्गाधनीको मोठ भिडाउन सहयोग गरेन, उसले जग्गाको धनीसमेत पहिचान गरिदिनुपर्ने हुन्छ ।” उहाँका अनुसार थप प्रक्रिया नहुने भएपछि फिल्डमा खटाइएका कर्मचारीलाई जिल्ला कार्यालय फर्काइएको हो ।

साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमीन परेपछि त्यो जमीन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो । मालपोत कार्यालयप्रमुख लोकबहादुर भण्डारीले भुम्लुमा लालपूर्जासम्बन्धी केन्द्रीय कार्यालयबाट कर्मचारी खटाउन कुनै आधिकारिकता नआएको बताउनुभयो । उहाँले उच्चस्तरीय विशेष आयोगविना भुम्लुको समस्या समाधान गर्न नसकिने पाइएको बताउनुभयो । उहाँले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफू प्रक्रियामा जाने बताउनुभयो । विभाग र मन्त्रालयको स्पष्ट नीति र निर्देशन नभएका कारण विवादित जग्गाको नापजाँच तथा पूर्जा बनाउन समस्या परेको जनाइएको छ ।

विशेष